माघ २९ काठमाडौं – पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता टेकबहादुर बस्नेतले एमसीसी नेपाली जनताबाट अस्वीकृत भएकाले संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि शुक्रबार पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसी सम्झौताले नेपालको राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुर्याएको छ । यसमा अमेरिकाले नेपाललाई जबर्जस्ती गर्न पाउँदैन । कसैको करकाप, धम्की र हस्तक्षेप नेपाली जनतालाई अमान्य छ । एमसीसी नेपाली जनताबाट अस्वीकृत भएकाले संसद्बाट अनुमोदन गर्न मिल्दैन । हामी नेपाली जनता र मुलुकका हितबाहेककोसम्झौता गर्न सक्दैनौं । यो दबाबमा गर्ने कुरा होइन ।”

माओवादी नेता बस्नेतले आफ्नो पार्टीलाई राष्ट्रिय स्वाधीनताविरुद्ध जाने गठबन्धन प्यारो हुनै नसक्ने दाबी गरे । उनले थपे, “गठबन्धन र एमसीसीबीच कुनै सम्बन्ध छैन । तर एमसीसीको हतियारले गठबन्धन भत्काउने खोजिरहेको छ । यस्ता गठबन्धन बन्छन्, भत्कन्छन् । गठबन्धन बचाउनका लागि एमसीसी पारित गर्न सक्दैनौं । एमसीसी पास गर्ने हदसम्म गठबन्धन पुगेमा सरकारबाट बाहिरिन सक्छौं ।”

सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी संसद्को कार्यसूचीमा नलानेबित्तिकै त्यो अपराध नहुने उनले दाबी गरे । बस्नेतले भने, “उहाँले जनताको हितका लागि सबैसँग छलफल गरिरहनुभएको छ । छलफल गर्दै जाँदा आउने कुरालाई उहाँले अघि बढाउने हो । अहिलेकै सन्दर्भमा । के अपराध गर्नुभएको छ सभामुखले ? नाङ्लो ठटाएर हात्ती तर्साउने ? उहाँलाई महाभियोग लगाउने आँट कोसँग छ ?” रिपोर्टरर्स नेपालबाट

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार