माघ २९ काठमाडौ – यदु गौतम प्रतिष्ठानले २०७८ को ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ रूकुमका पत्रकार महेश केसीलाई प्रदान गर्ने निर्णय गरेकाे छ।

पुरस्कार छनोट समितिकाे शुक्रबार काठमाडौंमा बसेकाे बैठकले केसीलाई पुरस्कार दिने निणर्य गरेको संयोजक सूर्य थापाले बताए। पत्रकार केसी रुकुम पश्चिमकाे रेडियाे सानीभेरी लगाएत कान्तिपुर टेलिभिजनकाे रुकुम पश्चिमका प्रतिनिधि हुन।

सिफारिस समितिका संयाेजक थापाकाे अध्यक्षतामा सम्पन्न बैठकमा सदस्य तीर्था गाैतम र सदस्य सचिव रूद्र खड्काकाे उपस्थिति थियाे। विगत २० वर्षदेखि निरन्तर याे पुरस्कार यदु स्मृति प्रतिष्ठानले हत्या, हिंसा र अराजकता विरूद्ध शान्ति, सुशासन र अमनचयनकाे पक्षमा कलम चलाउने पत्रकारलाई प्रदान गर्दै आएकाे छ। केसीलाई फागुन २१ गते पुरस्कार राशि नगद १५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ।

नेकपा एमालेका तत्कालिन रुकुम जिल्ला सचिव, राप्ती अञ्चल समन्वय कमिटी सदस्य र राष्ट्रिय पार्षद् समेत रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चुनावी प्रचारकाे लागि चौरजहारी जाने क्रममा तत्कालीन विद्रोही माओवादीले २०५५ फागुन २१ गते तत्कालीन गराइला गाविस -७ मा हत्या गरेकाे थियाे। गौतम ०५६ साल वैशाख २० र जेठ ३ काे आम निर्वाचनमा रुकुम क्षेत्र नं २ बाट पार्टीको उम्मेदवार समेत घोषित भइसकेका थिए।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार