माघ २४ सल्यान – समाज रुपान्तरण र आर्थिक विकासको लागि बागचौर नगरपालिका वडा न.१ ठिनबाङमा रहेकाे सिर्जनशिल बहुउद्देश्यीय पशुपालन तथा कृषि कम्पनी प्रा.लि नमुना र उदाहरणीय बन्दै गएकाे छ।
उक्त प्रा.लिले कामको खोजीमा विदेशिएका युवा, गाउँघर सुनसान, बढ्दो गरिबी, खेतीयोग्य उर्वर जमिन बाँझो हुदै गएको देखेर ठिक एक वर्ष अगाडि देखि स्थानीय युवाहरूको सोच र योजनामा सामुहिक रुपमा सक्रिय रहेर स्थापना गरेका हुन।संस्थाको योजना, काम गर्ने इच्छाशक्ति, कार्य संचालन र व्यवस्थापन पद्धति, समर्पण र लगाव हेर्दा अहिले त्यहाँका स्थानीयहरुले पनि केही परिवर्तन भएकाे र दैनिकि सहजतिर गएकाे अनुभुती गरेकाे बताउँछन।
उक्त प्रा.लिकाे अनुगमनकाे लागि पुगेका बागचौर नगरपालिका शिक्षा शाखामा कार्यरत कर्मचारी विरेन्द्र प्रकाश डि.सीले चाँहेपछि र केही थाेरै अवसर पाए भने युवाले समाज परिवर्तन गर्न सक्छन भन्ने गतिलो उदाहरण याे प्रा.लिकाे काम देखेर अनुमान गर्न सकिने बताए। साथै हरेक समाजमा यस्ता कार्यहरुकाे सिकाे गरि जिवनस्तर उकास्न समेत टेवा पुग्ने गरि उदाहरणीय काम गर्न आग्रह गरेका छन।
डिसी भन्छन; १) सहकारी, कृषक समुह र निजी फर्मको नाममा पटकपटक सरकारी अनुदान प्राप्त गरेर पनि केहि गर्न नसकेकाहरु एकपटक यो संस्थाको स्थलगत अवलोकन भ्रमण गरेर केही सिक्न मेरो सुझाव छ ।
२) राजनीतिक पार्टीका कथित नेता कार्यकर्ताहरु जो समाजावादका आदर्श र सिद्धान्तका भाषण खुब गर्नु हुन्छ नि समाजवाद के हो र त्यसको वास्तविक अभ्यास कसरी सुरु गर्न सकिन्छ भन्ने कुरा यो कम्पनीको नेतृत्वबाट सिक्नुस भन्ने मेरो अनुरोध छ ।
३) बिना कामका सहकारी, कृषक समुह र निजि फर्मको नाममा सरकारी बजेट सित्तैमा बाँड्ने धन्दा तुरुन्त बन्द गर्न र अनुदान प्राप्त गरेका त्यस्ता सहकारी, कृषक समुह र निजि फर्महरुको हालको अवस्था र अनुदानको प्रभावकारिता अध्ययन गर्न सम्बन्धित सरकारी निकायलाई मेरो जोडदार खबरदारी छ ।
४) विभिन्न राजनीतिक दलका भातृ संघ संगठनका युवा साथीहरु छोड्नुस तपाईहरु जिन्दावाद र मुर्दावादका नारा बरु नारा यसरी लगाऔं । संगठनलाई सहकारीमा बदलौं !!, सहकारी मार्फत कृषि क्रान्ति गरौं !!, स्वरोजगार बनौं !!, व्यावसायिक बनौं !!, आर्थिक रूपमा आत्मनिर्भर बनौं !!, समाजवादी क्रान्तिको आधार तयार गरौं !!!
५) किसान दाजुभाइ तथा दिदिबहिनीहरु तपाईहरुलाई थाहै होला “एक थुकी सुकि, सय थुकी नदि” भन्ने नेपाली उखान, “एकतामा बल हुन्छ” भन्ने भनाइ पनि त्यत्तिकै भनिएको होइन । तपाईहरु एक्लैले गर्न नसकिने कठिन काम सहकारी मार्फत सजिलै गर्न सकिन्छ । तपाईको एक्लो मेहनत यत्तिकै खेर गइरहेको हुनसक्छ वा जसोतसो परिवारको गुजारा चलिरहेको होला तर त्यो मेहनत र फराकिलो सोच सहकारीमा लगाउनु भयो भने तपाईलाई मात्रै होइन तपाईको आउने एक दुई पुस्तालाई समेत सजिलो हुनेछ किनकि अबको कृषि परम्परागत र निर्वाहमुखी होइन आधुनिक र व्यावसायिक हुदैछ भन्ने कुरा तपाईहरुले समयमै बुझ्न जरुरी छ ।
उक्त प्रा.लिले अगाडि सारेका कार्यक्रम तथा परियोजनाहरु
१) व्यावसायिक अर्गानिक तरकारी खेती (३५ रोपनी क्षेत्रफलमा)
२) भैंसीपालन फर्म (३० वटा भैंसी)
३) बङ्गुरपालन फर्म (१० बङ्गुर)
४) कुखुरापालन फर्म (१००० न्यु हेम्पसायर कुखुरा)
कुल जम्मा क्षेत्रफल – २०० रोपनी
नियमित रोजगारी – ७ जना
अन्य श्रमिक रोजगारी – ३० जना
संचालक समिति – ७ जना
आवद्ध सेयर सदस्य संख्या – १७ जना
संयोजकको नाम – हेमराज बस्नेत
कार्यकारी निर्देशक – आदर्श कृष्ण बस्नेत
बागचौर नगरपालिका बाट अनुदान – २० लाख
कुल चल अचल सामुहिक सम्पत्ति – करिब २ करोड
भविष्यको लागि दीर्घकालीन योजनाहरु
१) व्यावसायिक बाख्रापालन
२) व्यावसायिक कालिज पालन
३) एग्रो पर्यटन होटल एन्ड लज
४) कम्पनीको अन्य क्षेत्रमा विकास र विस्तार