माघ १४ काठमाडौ – सामाजिक सुरक्षा भत्ता वितरणकाे लागि ल्याएको रकम हराएको बहाना गरि हिनामिना गरेकाे आराेपमा वडा सचिव सहित तिनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्दा दर्ता गरेकाे छ।

नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ०२ को वडा कार्यालयबाट २०७७।१२।२४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको ५३,०१,८५६ राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरीकाे आधारमा अनुसन्धान हुँदा वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र निलप्रसाद मिश्रलाई दाेषि ठहर गर्दै मुद्दा दायर गरिएको आयाेगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।

उक्त रकम बैङ्कबाट लिएर आएको र कार्यालयमा वडा सचिव राउत, कार्यालय सहयोगी गिरी र मिश्रको रोहवरमा उक्त रकम राखिएको वडा कार्यालयकाे दराजको सेफको चाँबी वडा सचिव राउत र कार्यालय सहयोगी गिरीसँग रहेको र वडा कार्यालय ढोकाको चाँबी कार्यालय सहयोगी मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाँबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको र सुरक्षा निकायलाई पनि कुनै जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वय समेत नगरेको देखिएको अनुसन्धानबाट खुलेकाे हाे।

नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेकोले तीन जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाे ठहर गर्दै साेहि ऐनको दफा १७ बमोजिम साेहि ऐनको दफा ३ को उपदफा (१) यहि दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६ कायम गरी सजाय सहित दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम तिनजनाबाट असुल गर्नेगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार