माघ १२ काठमाडौ – कोरोना विरुद्धको खोप लगाएवाफत २० हजार रुपैयाँ घुस लिने एक स्वास्थ्यकर्मी र घुसलिन सहयोग गर्ने सहयोगी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

महोत्तरीको महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साह विरुद्ध आयाेगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

निःशुल्क रुपमा कोभिड-१९ विरुद्धको Johnson & Johnson लगाई दिनु पर्नेमा खोप लगाई दिनु सेवाग्राही सँग खोप लगाउन २० हजार रुपैयाँ घुस लिएका हुन।

हेल्थ असिस्टेन्ट साहको निर्देशनमा कृष्णकुमार यादवले सेवाग्राहीबाट २० हजार घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। अख्तियारले मतियारको रुपमा काम गर्ने यादवलाई पनि २० हजार बिगो माग दाबी गर्दै विपक्षी बनाएको छ।

विशेष उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले हेल्थ असिस्टेन्ट साहको निर्देशनमा कृष्णा कुमार यादवले २० हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयाेगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।

महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहले सेवाग्राही सँग खोप लगाई दिनका निम्ति घुस/रिसवत माग गरेको र उनलेे भने बमोजिम यादवले सेवा ग्राहीबाट घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले बताए।

निज हेल्थ असिस्टेन्ट साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा बिगो २० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिने साथै यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र साेहि दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा मतियार भई कार्य गरेकोले बिगो २० हजार कायम गरी साेहि दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दर्ता भएको सहायक प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार