माघ १२ काठमाडौ – महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत प्रहरी नायव निरीक्षक हरि खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्दा दर्ता गरेकाे छ।
खडका विरुद्ध शैक्षिक योग्यता आइ.ए.को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रहेकाे खुलेकाे आयाेगले जनाएको छ।
खडका २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। उनले झुटाे शैक्षिक प्रमाणपत्र पेश गरि नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफू समेतलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेकाे ठहर गर्दै आयाेगले मुद्दा दर्ता गरेकाे आयाेगका सहायक प्रवक्ता
वेदप्रसाद भण्डारीले बताए।
खडका विरुद्ध भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाण पुष्टि भएपछि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बुधबार बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले बताए।