माघ ४ बारा – अवैध रुपमा भन्सार छलि गरि चाँदीका गहना भारत बाट नेपाल प्रवेश गराउन खाेज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट लुकाई छिपाई भन्सार छलि ल्याएको चाँदीका विभिन्न तयारी गहना सहित भारत बिहार मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अवैध गहना ल्याइरहेकाे भन्ने गाेप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङकीभित्र फल्स बटन बनाई ११ केजी ५ सय ग्राम चाँदीका गहना फेला परेपछि गहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले बताए।

प्रहरीले बरामद गरेकाे चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू रहेकाे र ती गहनाकाे अहिलेकाे बजार मूल्य करिब १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ हुने र उक्त चाँदीका गहना सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको  प्रहरी उपरीक्षक देउवाले बताए।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार