पुस २९ काठमाडौ – नागरिकता बनाइदिने भन्दै घुस लिने वडा अध्यक्ष र वडा सदस्य माथि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्दा दायर गरेकाे छ।
स्याङ्जाकाे भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाई दिने भन्दै सेवाग्राहीबाट रु.१,३५,००० रकम माग गरि लिएकाे पुष्टि भएको हाे।
सेवाग्राहीले घुस लिएकाे भन्ने उजुरीकाे आधारमा आयाेगले अनुसन्धान गर्दा आरोपित वडाध्यक्ष गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा गलत सिफारिस गरिदिएको पुष्टि भएकाेले दुवैजनकाे संलग्नतामा घुस लिएकाे पुष्टि भएपछि मुद्दा दायर गरिएको आयाेगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
उनिहरु विरुद भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा उनिहरुले लिएकाे बिगो रु. १,३५,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम उक्त घुस रकम १,३५,०००।– सेवाग्राहीलाई दुवै जनाले फिर्ता दिने र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसूरमा ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनेगरि मागदावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिहीबार विशेषअदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले बताए।