पुस २८ कपिलवस्तु – श्रीमतीकाे हत्या गरि आगो लगाएर फरार रहेका अभियुक्त श्रीमानलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेकाे छ

पक्राउ पर्नेमा भारतकाे सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने अन्दाजी ३० वर्षिय मुलायम चमार भनिने सिकन्दर चमार रहेका छन। सिकन्दरले आफ्नो २१ वर्षिय श्रीमाती किस्लावती चमारलाई २०७१ फागुन ३० गते राती हत्या गरेर आगाे लगाई फरार भएका थिए।

चमार दम्पती ससुराली आएकाे बेला उक्त घटना भएकाे हाे। साझपख बुवासंग खाना खाएर चमार दम्पती एउटा घरमा र बुवा सुखराम नजिकैकाे गोठमा सुतेका थिए। उनिहरु बस्दै आएकाे कपिलवस्तु साविक भिल्मी गा.बि.स.वडा नं.-९ हाल कृष्णनगर नगरपालिका वडा नं.-६ श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगी हत्या गरेर आगो समेत लगाई त्यहाबाट फरार रहेकाे भनि प्रहरीलाई मृतकका बुवा सुखराम दिएको जाहेरीका आधारमा प्रहरीले खाेजिकार्य गर्दै आएकाेकाे थियाे।

घर देखि अन्दाजी ३०० मिटर टाढा रहेको रहरको खेतमा हत्या गरी जलाएको अवस्थामा शव फेला परेको भन्ने सुनेपछि २ दिन पछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेकाे बुवा सुखरामले प्रहरी समक्ष बयान दिएका छन।

अभियुक्त सिकन्दरलाई गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले मङगलबार बेलुका १० बजेको तिर कपिलवस्तु यशोधरा गाँउपालिका वडा नं.-६ रंगपुर स्थितबाट नेपालतर्फ शंकास्पद तरिकाले आउदै गरेको अवस्थामा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पक्राउ परेका सिकन्दरबाट भारत उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र, नम्बर प्लेट नभएको निलो R15 माेटरसाइकल र दुईवटा मोबाईल बरामद गरिएको र अदालत बाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार