पुस २५, सल्यान – सल्यानको बागचौरमा एकिकृत कृषि प्रयोगशाला सुर्खेत, कृषि विकास कार्यालय सल्यान र बागचौर नगरपालिका कृषि विकास शाखाको आयोजनामा माटो जाँच शिविर संचालन हुने भएको छ ।
बागचौर नगरपालिकाको कृषि विकाश शाखाको प्राङ्गणमा यहि पुस २६ गते अर्थात् भोलि सोमबार हुने माटो परिक्षण शिविरमा कृषकहरुले आ-आफ्नो खेतबारीको माटोको अवस्था जाँच गराई माटोको अवस्थाबारे जानकारी लिन सक्ने कृषि शाखा बागचौरले जनाएको छ ।

माटो जाँच गराउन चाहने किसानहरुले आफ्नो खेतबारीको माटो कम्तीमा ५ ठाउँ खुर्पी, कुटो, कोदालोको सहायताले अङ्ग्रेजी ‘V’ आकारका खाडलहरु बनाई खाडलका एक छेउबाट ९ इन्च गहिराइसम्मको माटो लिएर सबै माटोलाई राम्रोसँग मिसाई आधा-आधा गरि माटो हटाएर करिब आधा केजी माटो तयार भएपछि कृषकको नाम, ठेगाना, नमुना लिईएको क्षेत्रमा लगाईएको बाली, जमिनको प्रकार ईत्यादी विवरण उल्लेख गरि प्याकिङ्ग गरेर ल्याउनु पर्ने समेत सुचनामा खुलाईएको छ ।

यस्तै सुन्तला तथा फलफूल क्षेत्रबाट माटोको नमुना ल्याउन नभुल्न समेत अनुरोध गरिएको छ ।

साथै भोलि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म माटो जाँच शिविर संचालन हुनेछ । हेर्नुहोस यस्तो छ सुचना

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार