पुस १८ कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकि १३ वर्षिय निर्मला पन्त प्रकरणमा भारतीय एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेकाे विवरण भने प्रहरीले गाेप्य राखेकाे छ। यहि प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार निर्मलाकाे शव भेटिएको वरपर तरकारी खेती गर्दै आएकाहरुकाे छाेरा रहेकाे मात्रै खुलाएका छन। निर्मला हत्याकाे अब चार वर्ष पुग्नै लाग्दा वास्तविक दाेषि अहिलेसम्म पत्ता लागेकाे छैन। यहि घटनाले गर्दा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्ट सहितका प्रहरी बर्खास्त गरिएको थियाे भने निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु समेत भएको थियो।

निर्मलाका हत्यारा पत्ता लगाउन देशव्यापी रुपमा सडकदेखि सदनसम्म आवाज उठे पनि प्रहरीले दोषीहरुकाे नजिक पुगेकाे भनेपनि अहिलेसम्म कानूनी दायरामा ल्याउन सकेकाे छैन। भीमदत्त नगरपालिका -२ उल्टाखामकी १३ वर्षीया निर्मला ०७५ साउन १० गते घरबाट विद्यालयकाे गृहकार्य गर्ने भन्दै साथीको घरमा गएपछि बेपत्ता भएकि भाेलिपल्ट उखुबारीमा अर्धनग्न अवस्थामा शव फेला परेकाे थियाे।

घटनाकाे छानवीनकाे लागि ०७५ भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन आयाेग गठन गरेको थियो ।  छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन तयार गरेकाे थियाे।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ । त्यस्तै निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए । अहिले सम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् ।

प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले विष्टलाई भदौ ३ गते घटनास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो । स्थानीयले बिष्ट दाेषि नभई वास्तविक दाेषिलाई बचाउन मानसिक सन्तुलन ठिक नभएका सिंहलाई नक्कली दाेषि तयार गरेकाे भन्दै दबाब दिएपछि प्रहरीले छाेडेकाे थियाे।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार