पुस १७ इलाम – अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले एक सामुदायिक वनका पुर्व अध्यक्ष माथि रकम हिनामिना गरेकाे भन्दै मुद्दा दायर गरेकाे छ।
माईनगरपालिका वडा नं. ९ (साविक चिसापानी बोरङ वडा नं.- ९) स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा स-मिलसँग समुहका गोलिया काठ दिन्छु भनी रकम लिएको र २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते हस्ताक्षर समेत गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरीकाे आधारमा आयाेगले उनिमाथि अनुसन्धान गरेकाे थियाे।
अनुसन्धानबाट जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष थेबेले वन समुहको निर्णय किताब तथा चेकबुक लगायतका कागजातहरु आफूले राखी वन उपभोक्ता समुहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखत समेत किर्ते गरी रकम निकाली खर्च गर्ने गरेकाे र उक्त सामुदायिक वनका कार्यक्रमहरुको खर्च विवरण तथा बिल भरपाईसमेत नदेखाउने गरेकाे खुलेकाे हाे।
बदनियतपूर्ण ढंगले रु.१३,९७,७७७।४१ रकम हिनामिना गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको आयाेगले ठहर गर्दै थेबेलाई बिगो रु.१३,९७,७७७।४१ (तेह्र लाख सन्तानव्वे हजार सात सय सतहत्तर रुपैया एकचालीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम साेहि दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद तथा बिगोबमोजिम जरिबाना हुन र साेहि दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो
हुन समेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेकाे आयाेगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।