मंसिर ८, सल्यान – ईलाका प्रशासन कार्यालय थारमारेमा जनशक्तिको अभाव र सेवाग्राहीको चाप बढेको छ ।
सेवाग्राहीको चापका कारण कार्यालयमा अन्य सेवासँगै नागरिकता बनाउन आएका सेवाग्राहीले दुई दिनसम्म कुर्नु पर्ने बाध्यता रहेको छ ।

कार्यालयमा दैनिक एक सय भन्दा बढी सेवाग्राही आउने भएको हुँदा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सेवा दिईरहेको भए पनि फाइल पेस गरेको दुई दिनपछि मात्र पालो आउने गरेको ईलाका प्रशासन कार्यालय थारमारेका प्रमुख मोहन डाँगीले बताए छन ।

हाल बागचौर नगरपालिका, कुमाख, दार्मा र सिद्ध कुमाख गाउँपालिकाका सेवाग्राहीलाई कार्यालयले सेवा दिँदै आइरहेको छ ।

भिड अत्याधिक हुने हुँदा एक दिनमै हुने काम दुई दिनसम्म लाग्ने गरेको कार्यालय प्रमुख डाँगीले बताए । कार्यालयमा  जनशक्ति  कम हुँदा पनि व्यवस्थापनमा समस्या हुनुका साथै सेवाग्राहीको चाप बढ्दा प्रहरीको सहयोगमा भिड व्यवस्थापन गर्नु परी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार