कात्तिक १३ सल्यान – जिल्ला जनगणना कार्यालय सल्यानको आयोजना तथा स्थानीय जनगणना कार्यालय बागचौरको समन्वय र बागचौर नगरपालिकाको व्यवस्थापनमा बागचौरमा शुक्रबार राष्ट्रिय जनगणना २०७८ प्रचारप्रसारका लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“मेरो गणना मेरो सहभागिता” भन्ने मूल नाराका साथ १२ औं राष्ट्रिय जनगणनाको स्थलगत तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । पहिलो चरणमा घर तथा घरपरिवार सुचिकरण फारम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवार, पुरुष, महिला र अन्य लिङगी संख्या, परिवारको कृषि सम्बन्धी आदि विवरण संकलन गरिएको थियो ।

अब दोस्रो चरणमा यही कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली मार्फत घर, परिवार र ब्यक्ति सम्बन्धी विस्तृत विवरण संकलन कार्य गर्ने स्थानीय जनगणना कार्यालय बागचौरले जनाएको छ । स्थानिय जनगणना अधिकारी टेक बहादुर डि.सी.ले १२ औं राष्ट्रिय जनगणना देशको संघिय संरचनाको पहिलो जनगणना भएकाले पनि वडा, पालिका, प्रदेश र संघीय स्तरमा स्थलगत सूक्ष्म तथ्यांकहरु संकलन हुने हुँदा आगामी दश बर्षको लागि देशको समग्र विकास योजना बनाउन महत्वपूर्ण आधार भएकोले यसको ठुलो महत्व रहेको बताएका छन ।

कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन मिडिया, सरोकारवाला निकाय र आम जनसमुदाय सकारात्मक भएर लाग्नुपर्ने बताएका छन । ‘मैले अन्य पालिकाका जनप्रतिनिधिहरुसँग पनि सहकार्य गरिरहेको छु, अब चाडैं बागचौर नगरपालिकाका १२ वटै वडाका जनप्रतिनिधिहरुलाई कार्यपालिकाको बैठक राखेर यसलाई सफल बनाउन निर्देशन दिने छु’ उनले भने ।

बागचौर स्थानिय जनगणना कार्यालय अन्तर्गत रहेका दार्मा गाउँपालिकामा ५ जना सुपरिवेक्षक तथा २१ जना गणक, सिद्धकुमाख गाउँपालिका अन्तर्गत ४ जना सुपरिवेक्षक तथा १५ जना गणकहरु र बागचौर नगरपालिकामा ९ जना सुपरिवेक्षक र ३५ जना गणकहरु खटाइएको छ ।

कार्यक्रममा नगर उप-प्रमुख कल्पना पुन, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमाल, लगाएत विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार