असाेज १३ सल्यान – चाडपर्वमा हुने घटना लाई न्यूनीकरण गर्नको लागी थारमारे बजारमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

इलाका प्रहरी कार्यालय थारमारे र अस्थायी ट्राफिक पोष्ट थारमारेले स्थापना गरेको सहायता कक्षको उद्घाटन बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले गरेका थिए । उनले चाडपर्वमा हुने यात्रुहरुको तिव्र चापबाट घट्न सक्ने घटनाहरुलाई न्यूनीकरण गर्नको लागि थारमारे प्रहरीले गरेको यो कार्य उत्कृष्ट एवम् सकारात्मक भएको बताएका छन् । प्रमुख बुढाथोकीले थारमारे बजारमा स्थापना गरिएको सहायता कक्ष हरेक यात्रु एवं नागरिकहरुको लागि पुर्णरुपमा सहजता बनाउन इलाका प्रहरी कार्यालय थारमारेलाई अनुरोध गरेका छन् । उनले सवारी साधनमा अप्ठ्यारोमा परेका यात्रु र नागरिकहरुलाई यात्रु सहायता कक्ष र नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरेका थिए ।

उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका वडा नं. २, का वडा अध्यक्ष टोपबहादुर डाँगी, इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख सुशील थापा मगर, अस्थायी ट्राफिक पोस्ट थारमारेका निमित्त प्रमुख चित्र बहादुर भण्डारी, यातायात कर्मी, बजार बासी लगाएत सर्व साधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार