श्रावण १७ काठमाडौं – ठमेलमा चिनियाँ नागरिकले संचालन गरेको अवैध मदिरा भट्टीमा प्रहरीले छापा मारि संचालकलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा चीनको जियाङ्गसु प्रान्त घर भएका पर्यटन भिजामा नेपाल आएका चिनियाँ नागरिक ५६ वर्षीय सिजि जिहुई रहेका छन। होटल दर्ता गरी व्यवसाय संचालन गर्दै आएका चिनियाँ नागरिक सिजि जिहुईले हाेटलमा अवैध मदिरा पनि उत्पादन र बिक्री गर्ने गरेकाे भन्ने विशेष सुचनाका आधारमा प्रहरीले छापा मारेको हो।

बरामद सामान
ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई गत वैशाख १० गतेबाट होम स्वीट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि.काे नामबाट दर्ता गरी जुहुईले अवैध मदिरा भट्टी संचालन गरेको खुलेको हाे। महानगरीय अपराध महाशाखाबाट गएको टोलीले मदिरा उत्पादन गर्ने सामग्री सहित ठूलो परिमाणमा मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने कच्चापदार्थ बरामद गरेको छ। आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त भट्टीमा छापा मारेको हाे।
मदिरा बनाउन प्रयाेग हुने चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, ८० वटा प्लाष्टिकको ड्रममा रहेको कच्चापद्वार्थ र ड्रम एक सय १३ थान बरामद गरिएको महाशाखाले जनाएको छ। बरामद सामानहरु आन्तरिक राजस्व कार्यालय महाराजगंजको जिम्मा लगाइ रेष्टुरेन्ट पनि सिल गरेको छ। ति चिनियाँ नागरिक लामो समयदेखि नेपालमा बसेर अवैध काम गर्ने गरेको खुलेको छ। सरकारी अनुमतिबिना ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नाम ब्राण्ड भनेर मदिरा उत्पादन गर्ने गरेको महानगरीय अपराध महाशाखाले बताएको छ।

बरामद सामान