असोज ११, सल्यान – २०४६ सालको व्यवस्था परिवर्तनसँगै नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका सल्यान, बागचौरका एकराज डाँगी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सह–महामन्त्री समेत रहेका डाँगीले लामो समयदेखि पार्टी संगठन र राजनीतिमा सक्रिय रहँदै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका छन् । पटक–पटक महाधिवेशन तथा महासमिति प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्नुका साथै उनले नेपाली कांग्रेस सल्यानको जिल्ला सचिव हुदै जिल्ला सभापतिको प्रतिस्पर्धामा समेत सहभागी भएर उनले जिल्लाको राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएको बताउँदै आएका छन् ।

डाँगीले आफ्नो राजनीतिक यात्रा र संगठनमा गरेको योगदानका आधारमा आफूलाई कर्णाली प्रदेश तथा सल्यानको समकालीन पुस्तामा नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय नेताका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।

१५औँ महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका डाँगीले आफूलाई अमूल्य मत प्रदान गरी प्रतिनिधिका रूपमा विजयी गराएमा आगामी दिनमा कर्णाली प्रदेश महामन्त्री वा पार्टी उपसभापतिका लागि समेत आफ्नो दाबी रहने बताएका छन्।

उनले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै नयाँ पुस्तालाई अवसर, कार्यकर्ताको सम्मान र कांग्रेसलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

“तपाईंहरूको अमूल्य मत र विश्वासले मलाई महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी प्रदान गर्नेछ। प्राप्त जिम्मेवारीलाई संगठन र पार्टीको हितमा इमानदारीपूर्वक निर्वाह गर्नेछु,” डाँगीले बताएका छन्।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार