असोज १०, सल्यान – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सल्यान जिल्लाबाट ३५ वर्षीय युवा नेता थमन योगीले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीभित्र युवा नेतृत्वको उपस्थिति र नीतिगत रूपान्तरणको एजेन्डासहित उनले उम्मेदवारी दर्ता गराएका हुन्।
लामो समयदेखि पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएका योगीले सल्यानको समग्र विकास, युवा सशक्तिकरण र गुटबन्दीरहीत एकताबद्ध कांग्रेस निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्। ३५ वर्षीय योगीको उम्मेदवारीलाई पार्टीभित्र युवा पुस्ताको उत्साहजनक कदमका रूपमा हेरिएको छ।
उम्मेदवारी घोषणा गर्दै नेता योगीले भने, “सल्यानका स्थानीय मुद्दा, विकास निर्माणका आवश्यकता र युवाका आवाजलाई केन्द्रीय तहसम्म सशक्त रूपमा पुर्याउनु मेरो मुख्य ध्येय हो। पार्टीलाई थप सुदृढ, पारदर्शी र परिमार्जित बनाउनका लागि अग्रजहरूको मार्गदर्शन र साथीहरूको सहयोगको अपेक्षा गरेको छु।”
‘युवा जोस, उज्यालो सल्यान’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका योगीले सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा अग्रज नेताहरूसँग अमूल्य मत र आशीर्वादका लागि अपिल गरेका छन्। सल्यानमा कांग्रेसको संगठन सुदृढीकरण र आगामी रणनीति तय गर्न उनको उम्मेदवारी महत्त्वपूर्ण मानिएको छ।