असोज १०, सल्यान – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सल्यान प्रदेशसभा क्षेत्र नं. (क) को क्षेत्रीय सभापति पदमा युवा नेता दिपेश डि.सी. ले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका डि.सी.ले युवाको सहभागिता, पुस्तान्तरण र संगठनलाई थप गतिशील बनाउने उद्देश्यसहित क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएको बताएका छन् ।
डि.सी.ले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको सदस्य हुँदै सुरु गरेका हुन्। नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट वडा कार्यसमिति सचिव, १३औँ महाधिवेशनबाट बागचौर नगर सचिव तथा १४औँ महाधिवेशनबाट बागचौर नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।
हाल निर्वाचित जनप्रतिनिधिका रूपमा बागचौर नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा बागचौर नगरपालिकाका नगर प्रवक्तासमेत रहेका डि.सी. राजनीतिकसँगै सामाजिक तथा जनसेवाका गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् ।
आफ्नो गृहपालिका बागचौरसहित सल्यानका विभिन्न क्षेत्रमा सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय रहँदै आएका डि.सी.ले संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै युवालाई पार्टीको नेतृत्व र जिम्मेवारीमा अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।
उनले विगतमा पार्टी संगठनमा निर्वाह गरेका विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई आगामी दिनमा क्षेत्रीय तहमा प्रभावकारी रूपमा प्रयोग गर्दै संगठनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।