उच्च शिक्षा अध्ययन गर्ने सपना बोकेर विभिन्न जिल्लाबाट काठमाडौं आएका केही युवतीहरू चाँडै पैसा कमाउने लोभमा यौनजन्य अनैतिक गतिविधितर्फ लागेको खुलेको छ। सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा ‘इस्कर्ट’ सेवा सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशालाको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याएर यौनजन्य गतिविधि गराउने कार्य भइरहेको थियो।

लामो समयको गोप्य निगरानी र अनुसन्धानपछि प्रहरीले उक्त गिरोहको पर्दाफास गरेको हो। पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई काठमाडौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।

यसैगरी पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङ लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका केही युवतीहरू नियन्त्रणमा परेपछि भावुक बन्दै रुन थालेका थिए। उनीहरूले “घरमा खबर नगरिदिनु होला” भन्दै प्रहरीसमक्ष अनुरोध गरेको बताइएको छ। परिवारले उच्च शिक्षा र उज्ज्वल भविष्यको सपना देखेर राजधानी पठाएका छोरीहरू यस्तो गतिविधिमा संलग्न रहेको तथ्य बाहिरिएपछि घटना थप चर्चाको विषय बनेको छ।

प्रहरीले पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै सामाजिक सञ्जालको दुरुपयोग गरी सञ्चालन हुने यस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई अझ कडा बनाइने जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार