सल्यानमा नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले घरदैलोमै राहदानी पुर्‍याउने सेवाको औपचारिक सुरुवात गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यानबीच २०८३ वैशाख २३ गते भएको सम्झौताअनुसार उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो।

सेवाको सुरुवातसँगै बनगाड कुपिण्डे नगरपालिका–१ निवासी डिल्लीबहादुर रावत र सन्तोषी रावतको राहदानी उनीहरूका आफन्तलाई घरमै पुगेर हस्तान्तरण गरिएको छ। यससँगै सल्यानमा राहदानी घरमै वितरण गर्ने अभ्यासको औपचारिक थालनी भएको छ।

जिल्ला हुलाक कार्यालय सल्यानका अनुसार पहिलो चरणमा ६९ थान राहदानी प्राप्त भएको छ। ती राहदानी सम्बन्धित स्थानीय तहका हुलाक कार्यालयमार्फत सेवाग्राहीसम्म पुर्‍याउन पठाइसकिएको जनाइएको छ।

हुलाक अधिकृत चिन्तामणि रेग्मीका अनुसार कालिमाटी गाउँपालिकामा ९, बनगाड कुपिण्डे नगरपालिकामा ७, कपुरकोट गाउँपालिकामा ७, त्रिवेणी गाउँपालिकामा ७, छत्रेश्वरी गाउँपालिकामा ९, बागचौर नगरपालिकामा १६, दार्मा गाउँपालिकामा ३, कुमाख गाउँपालिकामा १, सिद्धकुमाख गाउँपालिकामा ५ र शारदा नगरपालिकामा ५ थान राहदानी पठाइएको छ।

रेग्मीले एक–दुई दिनभित्र सबै राहदानी सम्बन्धित सेवाग्राहीलाई वितरण गरिसक्ने तयारी रहेको जानकारी दिए। नयाँ व्यवस्थाले राहदानी प्राप्तिका लागि सदरमुकाम धाउनुपर्ने झन्झट हट्ने, समय र खर्चको बचत हुने तथा नागरिकले सहज र पहुँचयोग्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार