जेलको पर्खाल र कडा सुरक्षा घेराले पनि रोक्न नसकेको एउटा अनौठो र गम्भीर प्रेम सम्बन्ध जहाँ जेलभित्रै सजाय काटिरहेकी एक जन्मकैदी युवती र बाहिर रहेका उनका प्रेमीबीचको दुरीले जेलबाट फरारीको योजना र त्यसपछिको गिरफ्तारीले सुरक्षा निकायलाई समेत चकित पारेको छ।
गम्भीर अपराधमा जन्मकैदको सजाय भोगिरहेकी सपना र बाहिर रहेका युवकबीच जेलभित्रैबाट प्रेम सम्बन्ध सुरु हुन्छ। प्रेम कतिसम्म गहिरिन्छ भने, प्रेमीले उनलाई जेलबाटै भगाउने जोखिमपूर्ण योजना बुन्छन् र सफल पनि हुन्छन्।
तर, कानूनको लामो हातबाट उनीहरू धेरै समय उम्किन सकेनन्। विशेष सूचना र प्रविधिको प्रयोग गर्दै प्रहरीले फरार जन्मकैदी सपना सहित उनलाई भगाउन मुख्य भूमिका खेल्ने प्रेमी दुवैलाई नियन्त्रणमा लिन सफल भएको छ।
यस घटनाले जेल सुरक्षाको संवेदनशीलता र कैदीबन्दीहरूको निगरानीमाथि फेरि एकपटक गम्भीर प्रश्न खडा गरिदिएको छ।
सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।
जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको र त्यसपछि एकजनाले माेटरसाइकलमा लिएको सिसिफुटेजमा देखिएको थियाे।
उनलाई भगाउन सहयोग गर्ने उनका प्रेमी नै भएको खुलेको छ। भोजपुर घर भएका २६ वर्षीय साजन श्रेष्ठलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए। श्रेष्ठकी आमा पनि उदयपुर कारागारमा छिन्। प्रारम्भिक छानबिनमा श्रेष्ठ युवतीको प्रेमी भएको खुलेको हाे।
प्रेमी भनिएका श्रेष्ठकी आमा पनि पहिला केन्द्रीय कारागारमै थिइन्। आमालाई भेट्न जाँदा सपनासँग चिनजान भएर उनीहरू प्रेम सम्बन्धमा परेकाे खुलेको छ।