पर्यटकहरूको मुख्य आकर्षण क्षेत्र लेकसाइडमा बढ्दै गएको ठगी, हैरानी र अनैतिक गतिविधिविरुद्ध प्रहरीले कडा एक्सन थालेको छ। आइतबार मध्यराति गरिएको विशेष अपरेसनमा १६ जना महिलालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले राति साढे १२ बजेदेखि २ बजेसम्म छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पछिल्लो समय पर्यटकलाई प्रलोभनमा पारेर रकम असुल्ने, हैरानी दिने र लुटपाटसम्म गर्ने गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा परेकाहरूले विभिन्न बहानामा पर्यटकसँग नजिकिने, रकम लिनेसाथ धम्की र नाटकमार्फत ठगी गर्ने गरेका थिए। केहीले ‘श्रीमान् आयो’ भन्दै त्रास देखाएर पैसा लिएर फरार हुने शैली अपनाएको खुलेको छ। पक्राउ परेकामध्ये केही पहिले पनि यस्तै गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ।
१८ वर्षमुनिका किशोरीलाई पुनर्स्थापना केन्द्र पठाइएको छ भने अन्यविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा अघि बढाउने तयारी भइरहेको छ। केहीलाई अभिभावकको जिम्मा लगाउने प्रक्रिया पनि चलिरहेको छ।
प्रहरीले लेकसाइड क्षेत्रमा फैलिँदै गएको विकृति नियन्त्रण गर्न ‘क्लिन लेकसाइड’ अभियान सुरु गरेको जनाएको छ। अभियानअन्तर्गत गुण्डागर्दी, ठगी र पर्यटकमाथि हुने दुर्व्यवहारविरुद्ध निरन्तर निगरानी र कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।
लेकसाइडलाई सुरक्षित, मर्यादित र पर्यटकमैत्री बनाउन स्थानीयवासीको साथ आवश्यक रहेको भन्दै प्रहरीले सहकार्यका लागि अपिल समेत गरेको छ।