जिल्ला प्रहरी कार्यालय रोल्पाले फागुन महिनामा जिल्लामा भएका अपराध, शान्ति सुरक्षा तथा प्रहरी गतिविधिबारे प्रगति विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार फागुन महिनामा जिल्लाभर ११ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ३ वटा जघन्य तथा गम्भीर, ४ वटा सामान्य र ४ वटा अन्य प्रकृतिका रहेका छन्। सो अवधिमा चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

प्रहरीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी २ वटा उजुरी दर्ता भएका छन्। घरेलु हिंसासम्बन्धी पनि २ वटा उजुरी परेकोमा १ वटा मिलापत्र गरिएको छ भने १ वटा प्रक्रिया मै छ। स्थानीय तहका आधारमा हेर्दा ती उजुरीमध्ये रोल्पा नगरपालिका र माडी गाउँपालिकामा एक–एक वटा रहेका छन्।

फागुन महिनामा ६ जना हराएको सूचना प्रहरीमा दर्ता भएको थियो। तीमध्ये ३ जना फेला परेका छन् भने ३ जना अझै फेला पर्न सकेका छैनन। फेला परेकामध्ये २ महिला र १ ज्येष्ठ नागरिक महिला रहेका छन् भने फेला पर्न बाँकीमध्ये २ महिला र १ बालिका रहेका छन्।

यसैबीच, फागुन महिनामा जिल्लामा २ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। आत्महत्या गर्ने दुवै महिला रहेको र उनीहरूको उमेर १६ देखि २५ वर्ष समूह बीचको रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका ४९ वटा उजुरी परेकोमा ३६ वटा फछ्र्यौट गरिएको छ भने ४ वटा उजुरी बाँकी रहेको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत आएका २ वटा उजुरी पनि फछ्र्यौट हुन बाँकी रहेको जनाइएको छ।

शान्ति सुरक्षा कायम गर्न ३९ पटक पेट्रोलिङ

शान्ति सुरक्षा कायम गर्न प्रहरीद्वारा फागुन महिनामा ३९ पटक पेट्रोलिङ गरिएको छ। यस अवधिमा २६ पटक पैदल गस्ती, २०० पटक ग्रामीण गस्ती, १४ पटक LRP र १००० पटक SRP सञ्चालन गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

यि मध्ये विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, स्थानीय तह, राजनीतिक तथा सामाजिक कार्यक्रम, विद्यालय व्यवस्थापन समिति तथा सार्वजनिक निर्माणसँग सम्बन्धित विवादका कारण पनि आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको जनाइएको छ। प्रहरी परिचालनका क्रममा मानवीय तथा भौतिक क्षति नभएको तथा अश्रुग्यास, गोलीगठ्ठा प्रयोग गर्नुपर्ने अवस्था नआएको प्रहरीले जनाएको छ।

दुई सवारी दुर्घटना

फागुन महिनामा जिल्लामा २ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १ मोटरसाइकल र १ बस संलग्न रहेका छन्। दुर्घटनामा परेकामध्ये १७ जनाको प्रहरीले उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ९ पुरुष र ८ महिला रहेका छन्। दुर्घटनाको मुख्य कारण तीव्र गति र ब्रेक फेल रहेको प्रहरीको विश्लेषण छ।

यस अवधिमा ट्राफिक चेकजाँचका क्रममा सवारी साधनमाथि कारबाही गरि उक्त कारबाहीबाट १ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीकाे तथ्यांकमा उल्लेख छ।

आगलागीका दुई घटना

विपद व्यवस्थापनतर्फ फागुन महिनामा २ वटा आगलागी घटना भएका छन्। आगलागीबाट २ घरमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

अवैध गतिविधि शुन्य

प्रहरीका अनुसार फागुन महिनामा अवैध हातहतियार तथा गोलीगठ्ठा, लागूऔषध, जुवातास, चोरी, अवैध मदिरा, अवैध पशुपंक्षी ओसारपसार तथा वन पैदावार चोरी सम्बन्धी उल्लेखनीय बरामदगी नभएको जनाएको छ।

३० वटा जनचेतनामूलक कार्यक्रम

अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले फागुन महिनामा जिल्लाका विभिन्न समुदाय तथा विद्यालयमा ३० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा ट्राफिक नियम, साइबर अपराध, लैङ्गिक हिंसा, लागूऔषध, बालविवाह, बाल यौन दुर्व्यवहार, मद्यपान सेवन तथा आत्महत्या न्यूनीकरण लगायत विषयमा जानकारी दिइएको थियो। उक्त कार्यक्रमहरूमा समुदाय तथा विद्यालयका गरी ६३३ जना सहभागी भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार