चैत २ दाङ – जरायोको सिङसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–४ पृथ्वीनगरकी २८ वर्षीया सीता चौधरी रहेकी छन।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बिहान ८ बजे नियन्त्रणमा लिएको हाे। चौधरीको साथबाट पाँचवटा जरायो जस्तो देखिने ओखेटोपहार बरामद गरेको हो। चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय दाङमा पठाइएको छ।
बरामद गरिएको ओखेटाेपहार दुई फिट चार इन्च लम्बाई र तीन हाँगा भएको सिङ एक थान, दुई फिट ६ इन्च लम्बाई र तीन हाँगा भएको एक थान, ३२.५ सेन्टिमिटर लम्बाई तीन हाँगा भएको एक थान, ३४ सेन्टिमिटर लम्बाई भएको दुई सिङमा चार हाँगा भएको एक थान, ४.५ इन्च लम्बाई दुई वटा सिङ एकैमा हाँगा नभएको एक थान गरी जम्मा पाँचवटा ओखेटोपहार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।