चेक अनादर मुद्दामा पक्राउ पुर्जि जारी भएकि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा नबुझाएको पाइएको छ ।

बर्दिया स्थायी घर भएकी रायमाझीले दाङको राप्ती गाउँपालिका वडा नं १ पाखापानी स्थित उनका घरभेटी हेमलाल आचार्यको घरमा प्रति महिना १० हजारका दरले भाडा दिने सम्झौता अनुरुप एक फल्याट लिएर २०७९ माघ ४ गतेदेखि बसेकोमा हालसम्म एक पटक ८० हजार दिएर त्यसयता केही नदिएको भन्दै न्यायको अपिलसहित आचार्यले निवेदन दिएका छन् ।

धेरै पटक अनुरोध गर्दा पनि नपाएकाले निवेदन सार्वजनिक गर्नुपरेको र यो विषय प्रदेश सभा र सरकारलाई समेत जानकारी गराएको जनाएका छन् ।

घरबेटीले सभामुख समक्ष दिएको निवेदन

आचार्यले सभामुखलाई नै न्याय दिलाउन आग्रह गर्दै निवेदनमा ‘म अरू आम्दानीको स्रोत भएको मान्छे होइन, कानुन बनाउने र जनतालाई न्याय दिन जनप्रतिनिधिबाट यस्तो कल्पना गर्ने कुरा थिएन, मैले धेरै पटक फोन गर्दा पनि उठाउनुभएको छैन, धेरै पटक भोलि भोलि भनेर टार्नुभएको छ, अहिले त धेरै समय भयो यहाँ घरमा आउनुभएको पनि छैन, मोबाइल पनि स्वीचअफ छ’ आचार्यले उल्लेख गरेका छन।

यसअघि जसपाबाट समानुपातिक सांसद भएर मन्त्री बनेकी रायमाझी ०७९ को निर्वाचनअघि जनमत प्रवेश गरेर समानुपातिक सांसद बनेकी हुन् ।

सांसदहरूले आफ्नो नियमित पारिश्रमिकबाहेक हरेक महिना १७ हजार रकम सरकारबाट घर भाडा पाउँदै आएका छन् । रायमाझीले पनि प्रदेश सभाबाट त्यो रकम नियमित लिँदै आएकि छन।

कसरी भयाे पक्राउ पुर्जि जारी

पर्साको पोखरिया बस्ने जनमतकै नेतृ आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह सहित पर्सा प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो ।

जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले आशाकुमारीसँग नगद साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । त्याे बाहेक उनले सुमन पर्सा जादा खाने बस्ने गरेको आशालाई तिर्नुपर्ने नगद २० हजार पनि बाँकि छ।

प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते देखि पटकपटक गरेर ३ वटा चेक दिइन तर सबै बाउन्स भएको थियो ।
दुई दिनको पार्टीको कार्यक्रममा पर्सा पुगेकी सुमन कार्यक्रम सकेर पनि १० दिनसम्म आशा कै घरमा बस्ने गरेको आशाले बताइन् । त्यसबेला होटलमा बसेको र खानपिन गरेको २० हजारभन्दा बढी रकम पनि आशाबाटै सुमनले तिर्न लगाएकी थिइन् । उता वीरगञ्जमा आशाको कपडाको पसल पनि छ, सुमनले सो पसलबाट थुप्रै कपडाहरू पनि उधारोमा लैजाने गरेकी त्याे पैसा पनि नदिएको आशाकाे भनाइ छ।

पार्टी फेर्दै सांसद देखि मन्त्री सम्म बनेकि सुमन

समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा सिफारिस भएकी रायमाझी यसअघि जसपाबाट प्रदेश सांसद थिइन्। उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन्। उनी पार्टी निर्णयविपरीत पोखरेल नेतृत्वको सरकारमा गएकी थिइन्। तर पछि जसपाले कारबाही गर्ने भएपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा नयाँ सरकार बनेपछि रायमाझीलाई कृषि मन्त्री बनाइएको थियो। त्यसपछि उनलाई जसपाले कारबाही गर्दै पार्टीबाट हटाएको थियो। पार्टी निर्णयविरूद्ध उनी सर्वोच्च अदालतमा गएकी थिइन्। उनको मुद्दा सर्वोच्चले तामेलीमा राखेको थियो।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार