चैत १, सुर्खेत – महिला पत्रकारहरूका लागि व्यावसायिक र जवाफदेही पत्रकारितामा लैङ्गिक संवेदनशीलता सम्बन्धी तीन दिने तालिम शुक्रबारदेखि वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना तथा सोसेक नेपालको सहयोगमा सुरु भएको तालिममा जाजरकोट, सल्यान, दैलेख र सुर्खेत जिल्लाका पत्रकार महिलाहरूको सहभागिता रहेको छ । सीमित स्रोतका कारण सबै जिल्लाका सहभागीलाई समेट्न नसकिएको भए पनि बाँकी ६ जिल्लाका लागि दोस्रो चरणको कार्यक्रममा समेटिने आयोजकले जनाएका छन ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल प्रमुख अतिथि रहेका थिए भने महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा विशेष अतिथिका रुपमा रहेकी थिइन । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, सोसेक नेपालका प्रतिनिधि बसन्त श्रेष्ठ, पत्रकार विभिन्न पेशागत संघ सगठनका प्रमुख तथा प्रतिनिधि, महासंघका शाखा अध्यक्षहरू, सञ्चारिका समुहका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
महासचिव खगेन्द्र भट्टराईले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण केसीले स्वागत मन्तव्य थिए भने उपाध्यक्ष अप्सरा बिष्टले उद्घाटन सत्रमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।
३ दिनसम्म संचालन हुने तालिमले पत्रकार महिलाहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न मद्दत गर्नेछ । साथै, उनीहरूका चुनौती र अवसरबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ । तालिमको प्रशिक्षण महासंघका अध्यक्ष निर्मला शर्मा र पत्रकार एवम् लेखक मोहन मैनालीले गरिरहेका छन ।