नेपाल पत्रकार महासंघ दाङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
बुधबार जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले एक प्रेस विज्ञप्ती जारी गर्दै शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली सहितको टोलीले बुधबार पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो
संगठनले पटक-पटक नेपाल पत्रकार महासंघ दाङ शाखालाई मर्यादित बनाउन गराएको ध्यानाकर्षण, सल्लाह सुझावको कुनै सुनुवाई नभएपछि शाखामा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
संगठनका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीद्वारा जारी प्रेस विज्ञप्तिमा संगठनले महासंघले सदस्यताको विषयलाई टुङ्गाएर मात्र निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गर्दै भनिएको छ– ‘नेपाल पत्रकार महासंघले आसन्न मसिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघले यसको इतिहास, गरिमा र आदर्शको धज्जी उडाउदै दलिय सिन्डीकेटको आधारमा जारी गरिएको नामावली सच्याई क्रियाशिल पत्रकारको सदस्यता प्राप्तीको अधिकार कुण्ठित नगर्न आग्रह गर्दछौं ।’
यस्तै संगठनले पत्रकार महासंघले पटक पटक सदस्यता शुद्धिकरणका नाममा सञ्चारकर्ममा क्रियाशिल पत्रकारको नाम योजनावद्ध ढङ्गले हटाउने वा नविकरण नगर्ने साथै क्रियाशिल पत्रकारको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारबाट वञ्चित गरी जारी गरिएको सूचीले महासंघको साझा चरित्र, विधि र विधानलाई लत्याउने काम भएको स्पष्ट पारेको छ ।