आज देशभर बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइदै छ। वि..स २०७० साल देखि प्रत्येक वर्षको जेठ २७ गते कृषक सेवा समितिले याे दिवसकाे अवसरमा उत्कृष्ट कृषकलाई सम्मान गर्दै आएकाे छ।
कुनैबखत नेपाललाई कृषिप्रधान देश भनेर भनिन्थ्यो। त्यतिबेला ९० प्रतिशतभन्दा बढी नेपालीहरु कृषिमा आधारित थिए। अहिले देशमा ६२ प्रतिशत कृषक परिवार रहेको पछिल्लो आँकडाले देखाएको छ भने ६५ प्रतिशत रोजगारीको अवसर कृषि क्षेत्रले प्रदान गरेको बताइन्छ। त्यस्तै कृषि जमिनमा ३४.४ प्रतिशत महिलाको स्वामित्व रहेको पनि तथ्यांकले देखाएको छ। तर दुःखको कुरा नेपालको जमिनको माटोको उर्बरा शक्ति भने ५० प्रतिशतभन्दा तल ओर्लिएको छ। त्यसको कारण एउटै हो प्रांगारिक मलको प्रयोगमा कमी हुँदै जानु र कृषि प्राविधिकको परापर्शबिना रासायनिक मलको जथाभावी प्रयोग हुनु। ब्यवसायिक कृषि कार्यले गर्दा पनि माटोको उर्बरा शक्ति कम हुन गैरहेको पाइन्छ। किन कि बढीभन्दा बढी र छिटोभन्दा छिटो फाइदाका लागि कृषि ब्यवसायीहरुले जथाभावी रासायनिक मल र विषादी प्रयोग गर्नेगरेको देखिन्छ। अर्कोतर्फ गाउँघरमा पशुपालन गर्न छोडेपछि प्रांगारिक मलको अभाव हुँदैगएको छ। वैदेशिक रोजगारका लागि खाडी मुलुकतर्फ युवाहरु जानथालेपछि कतिपय खेतबारीहरु बाँझो पल्टिएका छन्।
कृषकहरुलाई सरकारले सक्दो प्रोत्साहन दिनु आवश्यक छ। कृषकहरुले पाउने अनुदान रकम कागज मिलाएर अन्य टाठाबाठाहरुले हजम पार्ने गरेको समाचारहरु पनि सञ्चार माध्यमहरुबाट नआएका भने होइनन्। समयमा रासायनिक मल आयात नहुँदा हरेक वर्ष कृषकहरु मारमा पर्नेगरेका छन्। गोठको मल प्रयोगको लागि कृषि निकाय तथा संस्थाहरुले प्रोत्साहन गर्नुपर्दछ। कृषि प्राविधिकहरुबाट रासायनिक मलको नकारात्मक पक्ष बारे कृषकहरुलाई उचित सल्लाह दिइनु पनि जरुरी छ।
कृषि कार्यलाई अगाडि बढाउनको लागि युवाहरुलाई खाडी मुलुकमा जानबाट रोक्नु जरुरी छ। दुईवटा भैँसी पालेमा कृषकको जीवनस्तर त्यसै पनि उकासिन्छ। तर खाडी मुलुकमा गएर २५/३० हजार कमाउन जानु उचित छैन। परदेशमा इज्जत शून्य हुन्छ। आफ्नो मुलुकमा केही ब्यवसाय गरेमा इज्जत पाइन्छ। युवा युवतीहरु नेपालमा भविष्य छैन भनेर अमेरिका अष्ट्रेलिया लगायत मुलुकमा जानखोज्ने मनस्थितिलाई पनि सरकारले मध्यनजर गरेर स्वदेशमै अडाउनसक्नुपर्दछ। यस्तै गति हो भने आगामी दिनहरमा नेपाल रित्तिँदै जाने अवस्था छ। युवायुवतीहरु विदेश जाने र उतै हराउने एवं सन्तान उतै जन्माउने र यता बुढाबुढीहरु परलोक हुँदै जाने अवस्था आउँछ र देश खाली हुने सम्भावना बढ्दै जान्छ। तसर्थ विदेश पलायनलाई चिन्ताको विषय बनाइनुपर्दछ र समस्या समाधानका लागि उपायहरु सोँच्नु जरुरी छ।
विदेशमा गएर श्रम गर्नु त्यति सजिलो छैन। खाडी मुलुकहरुमा ५० डिग्रीभन्दा उच्च तापक्रममा काम गर्नुपर्छ। अंगभंग हुने र मृत्यु समेत हुनेगरेका खबरहरु पनि नआएका होइनन्। खाडी मुलुकहरुबाट त्रिभुवन विमानस्थल हुँदै देशमा काठको बाकसमा शबहरु आइरहेका समाचारहरुले पनि यो सन्देश दिन्छ कि युवा पलायन रोकिन जरुरी छ। सरकारको तर्फबाट युवा जमातलाई स्वदेशमै रोजगार पाउने किसिमले योजना र कार्यक्रमहरु तय गर्नु अति आवश्यक छ। गाउँघरतिर घरमुली युवा विदेश गएकोमा परिवारले गर्व गर्नेगरेको पाइन्छ। तर गर्व त त्यो हो जसले स्वदेशमै कुनै पनि सत्कर्म गरेको होस् चाहे त्यो मजदूरी र कृषिकार्य नै किन नहोस्।
देशमा कृषि मन्त्रालय, कृषि विभाग छ र कृषि अनुसन्धान परिषद छ। त्यस्तै जिल्लाहरुमा कृषि ज्ञान केन्द्रहरु छन् र देशमा कैयन कृषि क्याम्पसहरु पनि छन्। तर देशमा कृषि कर्म छोडिदै जानु विडम्बनाको विषय हो। यी निकाय तथा संस्थाहरुले पनि सकृयता अपनाएमा नेपाल पुनः कृषिप्रधान देश बन्नेथियो कि? गाउँघरका खेतबारी हराभरा हुनु जरुरी छ न कि बाँझो पल्टिएर झारहरुले राज गरेको होस्। आफ्नै खेतबारीको अनाज तरकारी अनि बगैँचाको फलफूल खाएमा स्वास्थ्य पनि विग्रँदैन। आयातीत अनाज, तरकारी र फलफूलले स्वास्थ्यमा समस्या आउनसक्छ र स्वास्थ्य उपचारका लागि आर्थिक क्षति ब्यहोर्नुपर्दछ। त्यसैले कृषि कर्म गर्नु राम्रो हो। माटोसँग खेल्नु प्राकृतिक नियम पनि हो भन्ने सिद्धान्तलाई हृदयंगम गरेर कृषि कर्मलाई निरन्तरता दिइनु आजको आवश्यकता हो। राष्ट्रिय कृषक दिवसको उपलक्ष्यमा सबैमा शुभकामना !!!