माघ २९ काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई महानगरीय अपराध महाशाखाको  प्रहरीले पक्राउ गरेको छ । केही साता यता राष्ट्रपति विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति  दिदै आएकी झाँक्रीलाई शंखमूलस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

पक्राउ पुर्जी

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो तर झाँक्रीले याे राजनितीक मुद्दा भएकाले हामीले सडकबाट आफ्नो अभिव्यक्ति राखेकाे हाे तर त्यस कसुरमा आफू समक्ष पक्राउ पुर्जी ल्याएर आए सचेत नागरिकको हैसियतले गिरफ्तारी दिने बताएकी थिइन । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी सुजाइन। प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् ।

पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । झाँक्रीलाई पक्राउ गर्न लागिएपछि उनको निवासमा भेला भएका नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले विरोध जनाएका थिए । उनीहरूले सरकार र प्रहरी विरुद्ध खडके चाेर देश छाेर,केपि तेराे पाराले दु:ख पाए साराले, रामकुमारी झाँक्री हाईहाई केपि विद्या बाईबाई भन्ने लगायतका नाराबाजी गरेका थिए ।

पक्राउ परेपछि झाँक्रीले आफुले एक असल नागरिकको हैसियतले राज्यको आदेश पालना गर्दै गिरफ्तारी दिएकाे बताउदै नेता कार्यकर्ता तथा शुभचिन्तक,मिडिया कर्मि,सुरक्षाकर्मी र शुभचिन्तक सबैमा धन्यवाद दिदै कुनै बल प्रयोग हुने किसिमको गतिविधि नगर्न आग्रह गरेकी थिइन्।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार