रोल्पा एक विकट जिल्ला हो भन्ने ठानिन्छ, वास्तवमा सोँचेजस्तो विकट चाहीँ होइन। नबुझ्नेहरुले रोल्पालाई डोल्पासरह नै ठान्छन्। रोल्पाको सदरमुकाम लिबाङलाई झट्ट हेर्दा सानो दार्जिलिङ हो कि जस्तो लाग्छ। भ्रमण गरेर र केलाएर हेर्ने हो भने रोल्पामा धेरै सम्पदाहरु भेटिन्छन्, अर्को शब्दमा भन्नुपर्दा रोल्पालीहरु धनी नहोलान्, तर रोल्पा धेरै धनी छ।
प्राकृतिक सुन्दरता, धार्मिकस्थलहरु, सुन र फलामलगायतका खानी, झरना, नदिनाला, गुफा र गढी त्यहाँका प्रमुख सम्पदाहरु हुन्। बहुमूल्य जडीबुटीहरु धेरै पहिलेदेखि नै ढाकरहरुमा बोकेर भरियाहरुले भारततर्फ निकासीका लागि कोइला बाससम्म लैजान्थे। उनीहरुले सही मूल्य पाउथे वा पाउदैनथे त्यो चाहीँ थाहा भएन।
ब्यापारीहरुले रोल्पाको भाँगो, सिमीको गेडा, भटमास लगायतका उपजहरु जिल्लाबाट वाहिर लगेर विक्री गर्नथालेको धेरै भैसक्यो। तर किसानहरुले उचित मूल्य पाए वा पाएनन् यहाँ शंका गर्नुपर्ने अवस्था छ। रोल्पाको प्रमुख अनाजहरुमा मकैका साथै कोदो, फापर, लट्टे, जुनेलो पर्दछन्, जुन स्वास्थयका लागि लाभदायक मानिन्छन्। रोल्पामा धान खेतीका लागि खासै खेतका फाँटहरु देखिदैनन्, कताकतै मात्र धानखेती हुनेगर्दछ। रोल्पाको जडन धानले भने कुनैबखत चर्चा कमाएकै थियो। जडन धान अहिले लोप भैसक्यो भन्दा पनि हुन्छ। संघीय राजधानी काठमाडौँमा दुर्लभ मानिने कतिपय सागसब्जीहरु रोल्पामा उत्पादन हुनेगरेका छन्। ती यसप्रकार छन्-
काठेकाउलीः
काठेकाउली झट्ट हेर्दा ब्रोकाउलीको जस्तो रङको हुन्छ, तर पातहरु ठूला र च्याप्टा हुन्छन्। काठेकाउली फुल्नुअघि यसका सबै पातहरु एकठ्ठा गरेर टुप्पोनिर डोरीले हल्का किसिमले बाँधिन्छ। बाँधेर पातले ढाकिसकेपछि काठेकाउलीको फूल भने हतहपत्त कसैले पनि देख्नपाउँदैनन्। यसको विरुवा असारे झरी गर्ने याममा सारिन्छ। यसको बिउ सार्नको लागि ब्याडमा गेडाको बिउ राखिँदैन। बोटको फेँददेखि माथीसम्म पात जोडिएका कापहरुमा साना-साना टुँसा वा पालुवा वा रोल्पाली बोलिचालीमा काइना चुँडाएर रोप्नेगरिन्छ। विरुवा रोपेको ९।१० महिनामा मात्र यो तरकारी खानको लागि तयार हुन्छ। यसको तरकारी भुटुवाभन्दा पनि झोल नै मीठो हुनेभएकोले रसदार किसिमले पकाइन्छ। काठेकाउलीको तरकारी निकै स्वादिलो मानिने हुँदा गाउँघरमा यो लोकप्रिय छ। तर आजकल यसको खेती गर्ने चलन हराउँदै गएको पाइन्छ। यसको खेती बारीमाभन्दा पनि आँगनको डिल वा करेसातिर रोप्नेगरेको पाइन्छ। बन्दागोबी, फूलगोबी, ग्याँठगोबी र ब्रोकाउली चार पाँच महिनामै खानका लागि तयार हुन्छन् भने काठेकाउली तयार हुन नौ-दश महिना लाग्छ।
काठेकाउली काठमाडौँमा जताजतै खोज्दा पनि पाइँदैन। अर्को अर्थमा भन्नुपर्दा यो राजधानी काठमाडौँमा दुर्लभ तरकारीमा गनिन्छ। रोल्पा र आसपासका क्षेत्रहरुमा ब्यवसायिक रुपमा काठेकाउलीको खेती गर्नेगरेको भए राजधानीसम्म आउँथ्योहोला। तर रोप्नेको घरमा मात्र तरकारीको रुपमा प्रयोग हुने हुँदा उत्पादन क्षेत्रबाट अन्यत्र शहर बजारमा यसको पहुँच छैन भन्दा पनि हुन्छ। यो पहाडीभेगका चिसो ठाउँहरुमा रोप्ने गरिन्छ। काठेकाउलीको लागि चिसो मौसम नै अनुकूल मानिन्छ। घरको छेउँमा काठेकाउलीको बोट देख्दावित्तिकै घरको शोभा नै अर्कै अर्थात् आकर्षक देखिन्छ।
कुथुर्केः
कुथुर्के शब्दले एक चराको नाम र वागलुङ जिल्लामा पर्ने ठाउँको नाम जनाउँछ भने रोल्पामा पाइने एक तरकारीको नाम पनि जनाउँछ। राजधानी काठमाडौँमा नपाइने अर्को तरकारी हो- कुथुर्के। यो पनि रोल्पातिर तरकारीको रुपमा प्रयोग हुन्छ कुथुर्के निगुरो प्रजातीको वनस्पति हो। यो निगुरोभन्दा अलिक सानो हुन्छ। सुख्खा मौसम शुरु भएपछि बारीमा हरियो साग सब्जी नहुँदा वनपाखातिर पाइने यो कुथुर्के नामको वनस्पति रोल्पा र आसपासका जिल्लाका निश्चित स्थानहरुमा मात्र तरकारीको रुपमा प्रयोग हुन्छ। हुन त पहाडी भेगतिर चैतदेखि नै निउरो टिप्न शुरु गरिन्छ। कुथुर्के टिप्नेहरुमध्ये धेरैजसोले घरमै प्रयोग गर्दछन् भने कसैकसैले विक्रीका लागि बजारतिर लैजाने गर्छन्। रोल्पामा कुथुर्के, निउरो र डौँडे प्रशस्तै पाइन्छन्। रोल्पामा डौँडेका लागि सदरमुकाम लिबाङ नजिकको भुम नामको ठाउँ र गुम्चाल प्रसिद्ध छन्। डौँडेलाई बृहत् नेपाली शब्दकोशमा ‘डौँठे’ भनि उल्लेख गरिएको छ।
भाल्वापातेः
भाल्वापाते पनि रोल्पालीहरुको एक महत्वपूर्ण तरकारी हो। अलि चिसो ठाउँमा मात्र यो पाइन्छ। भाल्वापातेले पनि रोल्पालीहरुको भान्सामा महत्वपूर्ण स्थान पाएको हुन्छ।
चैतेबाँको र बर्खेबाँकोः
फागुनको मध्यतिरदेखि चैतभर पाइने चैतेबाँको रोल्पालीले मात्र होइन राप्तीभरका मानिसहरुले रुचाउँछन्। करिब तीनवर्षअघि चैतेबाँको बुटवलको बजारमा विक्री गर्न राखेको यो लेखकलाई याद छ। सुइरो आकारमा उम्रिने चैतेबाँको बर्खेबाँकोको तुलनामा कम कोक्याउँछ। बर्खेबाँको भने जेठलागेपछि उम्रिनथाल्छ। टुप्पोबाट फैलिने पात कलिलो छँदै तरकारी खाएमा उचित हुन्छ। दुबै प्रकारका बाँकोका बारेमा यसअघि नै चर्चा गरिसकिएको छ।
बगाले च्याउः
भदौ असोजतिर पाइने यो च्याउन खेतका कान्लातिर समूह समूहमा भेटिन्छन्। घाँसे मैदान वा हलेका भिराला जमिनमा भेटिने बगाले च्याउको जरा एकहातसम्म लामा हुन्छन्। वास्नादार यो च्याउ फक्रिएको भने पाइँदैन।
सल्लिउँ च्याउः
सल्लाको घारीमुनी सल्लाका सुकेका पात (स्थानीय बोलिचालीमा सल्लिकुसुम) हरु भएको ठाउँतिर पहेँलो रङमा भेटिने च्याउलाई सल्युँ च्याउ भनिन्छ। यो च्याउन पनि स्वादिलोमा गनिन्छ।
रत्तिउँ च्याउः
घाँसेमैदानमा भन्दा यो वनपाखामा पाइने रातो सङको च्याउन हो। यो पनि बर्खायाममा नै उम्रनेगर्छ। यो पनि स्वादिलो च्याउमा पर्दछ।
फुटुके च्याउः
सालका सुकेका पातहरु थुप्रिएका ठाउँहरुमा डल्लो परेर उत्पत्ति भएर रहने यो च्याउ फुटाउँदा भित्र कालोकलो धुलो हुने भए तापनि त्यसै काँचो खाए पनि मीठो हुन्छ।
पट्टिउँ च्याउः
पट्टिउँ च्याउ समूहमा नभै एक्लो भएर उम्रिने र यसको छत्र फराकिलो र ठूलो हुन्छ। यो फट्टिउँ च्याउ पनि काँचै खाए पनि हुन्छ।
माथी उल्लिखित सबैखालका च्याउहरु पकाएर तरकारीको रुपमा खाँदा ज्यादै मीठो हुने हुँदा च्याउ खोज्न र टिप्नका लागि गाउँलेहरु बन तथा घाँसेमैदानतिर जानेगर्दछन्। यो लेखकलाई पनि यी सबै च्याउहरुको स्वादको अनुभव छ। शहर बजारमा पाइने कृत्रिम च्याउमा स्वादिलोपना खासै हुँदैन। पहिलेपहिले काठमाडौँको असन बजारमा पनि वनतिरका च्याउहरु बेच्न ल्याउँथे। तर हालका दिनहरुमा त्यसरी गाउँघरबाट वनका च्याउ बेच्न ल्याउनेगरेको पाइँदैन।
जिब्रेको सागः कालोचुत्रो वा करौतीका बोटहरुको समूहमुनीको जमिनमा पाइने जिब्रेको साग पहिले पहिले गोठालाहरुले वनबाट टिपेर घरमा ल्याउँथे। तर हालका दिनहरुमा गाइ बाख्राहरु पाल्न छाडेपछि वनमा कोही पनि जानुपर्दैन र जिब्रेको साग घरघरमा आउँदैन।
गेँजरीको सागः पुत्लेकोसा वा कुतलीकोसाको नामले चिनिने गेँजरीको मुन्टाको साग पनि स्वादिलो नै हुन्छ। गेँजरीको खेती गर्नुपर्दैन यो आफू अनुकूलको मौसममा आफै उम्रिन्छ र पुसदेखि फागुनसम्म यसको मुन्टाको साग खान सकिन्छ। यसको फल वा कोसालाई उसिनेर वा भुटेर वा काँचै पनि खान सकिन्छ। पहिलेपहिले केटाकेटी तथा ठूला मान्छेहरुले पनि कुतलीकोसा हरियो चनाको कोसा सानो केराउको कोसा खाँदै हिँड्दैगरेका दृश्यहरुको सम्झना यो लेखकलाई ताजै छ।
काठेको सागः
तोरी वर्गमा पर्ने काठे पनि छर्नुपर्दैन, बारीमा आफै उम्रिन्छ। पहिले पहिले काठेको गेडालाई पिसेर अचारमा पनि प्रयोग गरिन्थ्यो। यसको साग पनि तोरीको जस्तै स्वादिलो हुन्छ।