कुनै बखत दाङका पुराना दुई बजारमध्ये कोइलाबास पहिलो ठूलो र मानपुर बजार दोस्रो ठूलो बजारमा गनिन्थे।
भारतको बलरामपुरबाट ब्यापारीहरु आएर कोही कोइलाबास र कोही मानपुरमा कारोबार गर्नथालेका थिए। बजार चम्किँदै गएपछि मानपुर बजारमा किनमेल गर्नेहरुको घुइँचो हुनेगर्थ्यो। पछि घोराही र तुल्सीपुर बजार चम्किन थालेपछि भने मानपुर बजार सुकनथाल्यो। उता कोइलाबास बजार पनि विस्तारै सुक्दैगयो। कुनै समय स्वर्गद्वारी अञ्चल र पछि राप्ती अञ्चलमा नाम परिवर्तन भएपछि सोही अञ्चलका पहाडी जिल्लाहरुको ब्यापारिक केन्द्र बन्यो मानपुरबजार।
एक समयमा आकर्षक बजारको रुपमा चिनिएको मानपुर बजार विस्तारै सुस्ताउनथाल्यो। मानपुरमा रहेका अञ्चलाधीश कार्यालय र अन्य कार्यालयहरु तुल्सीपुरमा स्थानान्तरण हुँदै गए र तुल्सीपुरमा बजार बस्नथाल्यो भने मानपुरमा रहेको बजारमा चहलपहल घट्नथाल्यो। उता घोराही पनि चम्किँदैजाँदा मानपुरमा रहेका बलरामपुरे कोही ब्यापारीहरु भारततिरै फर्किए भने कोही घोराहीमा जम्नथाले। थोरै मात्र तुल्सीपुरमा बसेर कारोबार गर्नथाले।
२०३२ सालसम्म मानपुर बजारमा चहलपहल भएको र अड्डाहरु तुलसीपुरमा सरेपछि चहलपहल कम हुँदैगएको मानपुरबासी पूर्वशिक्षक र पूर्व सरकारी अधिकृत ढुण्डीराज सुवेदी बताउनुहुन्छ। साविक मानपुर गा.वि.स.मा रहेको मानपुर बजारमा अहिले चिया पिउने होटल पनि नहुँदा चिया नास्ताका लागि विजौरीमा जानुपर्ने अवस्था छ। मानपुर बजार अहिले तुल्सीपुर उपमहानगरपालिकाको वडा नं १७ मा पर्दछ। तुल्सीपुर र घोराही जतिजति चम्किदै जान्छन् मानपुर बजार उतिउति खस्किँदैगएको छ। पहिले पहिले मानपुर बजारको जिलेबी खानका लागि दाङका ठाउँठाउँबाट उपभोक्ताहरु आउने गरेको केही स्थानीय बताउँछन्।
पहाडी जिल्लाहरुबाट नून तेल किन्नेहरुको भीडभाड हुने मानपुर बजार अहिले खहरे खोला सुके झैँ सुकेको छ। कुनै बखत यस लेखक पनि आफ्ना पिताजी तेज प्रसाद अधिकारीसँग मानपुर पुगेको थियो। पिताजी मानपुरका कपडा ब्यापारी महन्थसँग नजिक हुनुहुन्थ्यो। रोल्पाको खुंग्रीमा पिताजीले दोकान गर्दा कपडाहरु मानपुरकै उनै महन्थसँग पनि लैजानुहुनथ्यो भने कतिपय सामानहरु घोराहीका भुपनारायण श्रेष्ठको थोक पसलबाट र केही कपडा घोराहीकै भिंग्रेली दोकानबाट लैजाने गर्नुहुन्थ्यो। २०३३।३४ सालतिर घोराहीबाट खुंग्रीसम्मको एकजना भरियाको ज्याला चार रुपियाँ थियो। त्यतिबेलाको समय अनुसार चार रुपियाँ ठीकै मानिन्थ्यो। पछि घोँडाबाट पनि सामानहरु ढुवानी हुनथाले। अलि पछि ट्रेक्टरहरुले पनि ढुवानी गर्नथाले भने हालका दिनहरु ढुवानीका लागि ट्रकहरु प्रयोगमा आएका देखिन्छन्।
थारु जातीहरुको बस्ती ज्यादा भएको मानपुरमा पहिले पहाडी भेगबाट पनि बसाइसराइ हुँदैआउँदा अरु जातजातीहरु पनि थपिदैगए। अहिले भने मानपुरमा अन्यत्रबाट बसाइसराइ हुनछाडेको छ। धेरैले तुल्सीपुर, घोराही र लमही तथा ती बजारका आसपासका स्थानहरु बढी रोज्नेगरेका छन्। मानपुरमा तत्कालिन अञ्चलाधीश कार्यालयले बनाइदिएको पञ्चेधारामा अझै पनि नुहाई धुवाई गर्नेको लागि सार्वजनिक रुपमा प्रयोग हुनेगरेको छ। मानपुरबजारमा २०२० सालदेखि नै ट्रेक्टर चल्नेगर्थ्यो।
तुल्सीपुर पश्चिम रुकुम र सल्यानबासीहरुको रोजाईमा पर्छ भने घोराही र लमही पूर्वीरुकुम, रोल्पा र प्यूठानका मानिसहरुको रोजाईमा पर्दछ। दाङमा पहाडतिरबाट बसाइसराइ गर्नेको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ। दाङमा सुविधाहरु बढ्दै जाँदा पहाडतिरका मानिसहरु त्यतैतिर आकर्षित हुनु स्वभाविकै पनि हो। हुन त अहिले पहाडी जिल्लाहरुमा पनि सुविधाहरु नभएको होइन। बस्नका लागि मधेशभन्दा पहाड नै ठीक भए तापनि पहाडबाट मधेशतिर झर्ने सिलसिला भने रोकिएको छैन। पहाडबाट मधेश झर्ने उद्देश्य नै भात खानकै लागि हो भन्नुमा फरक पर्दैन।
पहाडमा धानको उत्पादन कम हुनु स्वभाविकै हो। तर हालका दिनहरुमा भातभन्दा पनि पहाडी उपजहरु नै बढी स्वास्थ्यवर्द्धक रहेको चेतनास्तर बृद्धि भएको पाइन्छ। अझै पनि कसैकसैलाई भातै चाहिने अवस्था पनि छ। तर शहरबासीहरु मधुमेह रोगले आक्रान्त हुनथालेपछि भात खान छाडेर ढिँडो वा आटो र रोटी सेवन गर्नथालेका छन्। पहिले पहिले आटो वा ढिँडो गरिबहरुले मात्र खान्छन् र भात धनीहरुले मात्र खान्छन् भन्ने मान्यता थियो। तर अहिले खानपानको मामलामा समाज परिवर्तनशिल छ।