काठमाडौँको बजार राष्ट्रिय उत्पादनलेभन्दा पनि विशेषगरि दुई छिमेकी मुलुकबाट आयातीत सामानहरुले ढाकेको पाइन्छ। स्याउ भारत र चीनबाट बढी आउँछ भने नेपालका हिमाली भेगमा उत्पादित स्याउले बजार नपाएर तथा यातायातको असुविधाका कारण ढुवानी गर्न नसकिएर त्यसै कुहिएर खेर जाने गरेको पाइन्छ। त्यस्तै नेपाली सुन्तलाको सिजन सकिएपछि भारतबाट कोल्ड स्टोरमा भण्डारण गरिएका अर्थात् भनौँ भने जबर्जस्ती टिकाइएका सुन्तलाहरु नेपाली बजारमा बग्रेल्ती पाइन्छन्। जो स्वास्थ्यका लागि त्यति उपयुक्त मानिदैन। त्यस्तै अनार, अंगुरलगायतका कैयन फलफूलहरु भारतबाट नै आयात हुन्छन्। कतिपय फलफूल विषादीसहित नेपालमा भित्रिन्छन्, जो स्वास्थ्यका लागि अत्यन्त जोखिम मानिन्छन्। कतिपय ग्राहक पसलमै चाख्ने बानी परेका हुन्छन्, त्यो गलत काम हो। वास्तवमा विशेष गरि आँप र अंगुर घरमा लगेर केही बेर पानीमा डुबाएर मात्र खानुपर्ने हुन्छ। स्याउको वाहिरपट्टी लगाइएको मैनलाई पनि चक्कुको सहायताले खुर्केर खाँदा राम्रो हुन्छ। किन कि स्याउलाई यथाअवस्थामा राख्नको लागि मैनको प्रयोग गरिएको हुन्छ।

काठमाडौँमा अहिले एउटा सानो काँचो आँपको २५-३० रुपियाँ पर्छ। राप्तीभेगतिर काँचो आँपको चटनी अर्थात् कुचा खाने चलन छ। यो लेखकले पनि रोल्पामा रहँदा बाल्यकालदेखि नै खानासँग कुचा खाएको हुँदा काठमाडौँका पसलमा काँचो आँप देखेपछि किनेर घरमा लैजाने र कुचा बनाएर खानासँगै खाने गरेको छ। तर गाउँमा पाइने जस्तो रसिलो र पोषिलो चिज शहरमा नपाइनेमा दुईमत छैन। गाउँमा बोटबाट टिप्दावित्तिकै खानु र शहरमा बासी भएर बसेका चिजहरु किनेर खानुमा आकाश जमिनको फरक पर्छ।

काठमाडौँमा एउटा बेलको तीनसय रुपियाँ पर्छ भन्दा जो कोहीलाई पनि अचम्म लाग्नसक्छ। वाहिर प्रकाशमा नआएको मात्र हो। काठमाडौँका फलफूल पसलहरुमा दुई किलोसम्मका बेल पाइन्छन्। एउटा पाकेको बेल पाँचजनासम्मलाई खान पुग्ने पसलेले बताउँछन्। तातो हावा अर्थात् लूबाट बच्नका लागि बेल उपयुक्त मानिन्छ। कपिलवस्तुमा पनि बेलको जुस बनाउने उद्योग थियो जुन अहिले बन्द अवस्थामा छ। महेन्द्र राजमार्ग वरपर प्रशस्त मात्रामा बेलहरु फलेको देखिन्छ। तर नेपालीहरु बेलको महत्व र गुणका बारेमा अनभिज्ञ देखिन्छन्। भारतबाट आयातीत बेलले भने काठमाडौँलगायतका शहरहरुमा राम्रै बजार पाएको छ। स्वदेशका बेलहरुप्रति बेवास्ता र भारतीय बेललाई महत्व दिइनु बिडम्बनाको विषय हो। देश अहिले परनिर्भर अर्थात् आयातमुखी भैसकेको छ।

बेलमा भिटामिन र अन्य पोषक तत्वहरु पाइन्छ। पखाला हुँदा बेलको सर्बत सेवन गरेमा आराम मिल्ने विज्ञहरु बताउँछन्। क्याल्सियम, फाइबर, प्रोटिन र आइरन पनि प्रशस्त मात्रामा पाइनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बृद्धि हुने कुरा अध्ययनले जनाएको छ। रगत सफाई गर्न र मृगौला तथा कलेजोलाई स्वस्थ राख्नको लागि बेल उपयोगी मानिन्छ। कब्जियत भएका, मधुमेह पिडित र थाइराइडको समस्या भएकाहरुले भने बेल सेवन गर्नु उपयुक्त नहुने अनुसन्धानबाट पत्ता लागेको छ।

बेल जस्तै नेपालमा कैयन फलफूलहरु अन्य मुलुकहरुबाट आयात हुनु र स्वदेशमा उत्पादित चिउरी, तिँदू तित्री वा इमली जस्ता रैथाने फलफूलप्रति उपभोक्ताको चासो नहुनुले पनि बैदेशिक फलफूलहरुले बढावा पाएको स्पष्ट छ। यो लेखकले बाह्रवर्षअघि काठमाडौँको चावहिलको खुलाबजारमा चिउरी बेच्न राखेको देखेपछि खाउँखाउँ लागेर किलोको साठी रुपियाँमा किनेको थियो। चिउरी फ्रेस भने थिएन, चाउरिएको र ओइलाएको थियो। त्यतिबेलाको साठी रुपियाँ भनेको अहिलेको दुईसय रुपियाँ हो। राजधानी काठमाडौँमा आरुबखडा वा आलुचा, हलुवाबेद र आरुले भने सिजनमा बजार पाएको देखिन्छ। हलुवाबेद टर्रो र नटर्रो गरी दुई किसिमको हुन्छ। काठमाडौँमा नटर्रो हलुवाबेद किलोको पाँच सय रुपियाँसम्ममा विक्री हुनेगरेको पाइन्छ। थाइल्याण्डबाट आयात गरिएको इमली वा तित्री किलोको नौसयमा विक्री हुनेगरेको छ।

मकै, कोदो, फापर समेत भारतबाट आयात हुनु साह्रै दुःखको कुरा हो। नाइजेरियाको मकै राजधानीमा किलोको १७० रुपियाँमा विक्री हुन्छ। जुन पपकर्नका लागि उपयोगी मानिन्छ। अन्य कैयन खाद्यवस्तुहरु विदेशबाट आयात नहुने अवस्था कायम गर्न सरकारको ध्यान जानु जरुरी छ। त्यसका लागि किसानहरुलाई पुरस्कार र प्रोत्साहन गरिनुपर्दछ। ड्राइफ्रुट्स र मसलाहरु महंगोमा आयात हुँदा विदेशी मुद्रा वाहिरिनु देशको अर्थतन्त्रमा नकारात्मक असर पर्नु हो। त्यस्ता वस्तुहरु पनि स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गरिदिनु सरकारको कर्तब्य हुनआउँछ। यसो भएमा रोजगारका लागि विदेशिनु पर्ने अवस्था कम हुनेमा दुईमत छैन।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार