मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् । मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले बताए।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ भने मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार