कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्धन तथा बजारीकरणबारे प्रदेश स्तरीय छलफल गरिएको छ।
शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेत सँगको समन्वयमा वीरेन्द्रनगरमा छलफल गरेको हो।
अन्तरक्रियामा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताउदै प्रदेशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय समेत स्थापना नगरिएको गुनासो गर्दै ‘आर्थिक हिसाबले चिया र कफी खेती व्यावसायिक रूपमा हुन जरुरी छ।´ मन्त्री शर्माले भने।
कर्णाली प्रदेशसभा सदस्यद्वय विन्दमान विष्ट र घनश्याम भण्डारीले अन्य प्रदेशमा विकास बोर्ड कार्यालय स्थापना, उत्पादन तथा बजारीकरणका काम भइरहँदा कर्णालीमा अहिलेसम्म यस्ता खालका कार्यक्रम र कृषि अनुसन्धान तिर ध्यान नपुग्नु दु:खद भएको बताए।
बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कर्णालीमा चिया र कफीको सम्भावना रहेको बताए। उनले भने, ‘यसको खेतीमा जोड दिन सबै स्थानीय तहको अग्रसरता, प्रदेश तथा संघीय सरकारको समन्वय एवं सहयोग आवश्यक छ।’
छलफलमा चिया तथा कफी विकास बोर्ड कार्यालय प्यूठानका प्रमुख सीपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेको बताए।
त्यसक्रममा सल्यानका विभिन्न स्थानीय तहरुमा सम्भावना रहेको निष्कर्ष निकालिएको छ। जसमध्ये बागचौर, बनगाड कुपिन्डे नगरपालिका लगाएत दार्मा, कपुरकाेट, कुमाख गाउँपालिकाका विभिन्न क्षेत्र र कालिमाटी र ढाेरचौर क्षेत्रमा समेत सम्भावना रहेको निष्कर्ष निकालिएको छ।
सम्भावनाको हिसावले नेपाल अरेविका जातको कफी खेतीको लागि अत्यन्तै महत्वपुर्ण मानिन्छ । मध्य पहाडी जिल्लामा समुन्द्री सतह देखि ८ सय देखी १७ सय मिटरसम्मको उचाई सम्म अराविका जातको कफी खेती गर्न सकिन्छ ।
अराविका जातको कफी खेतीको लागि आवाश्यक पर्ने ७० देखी ८० प्रतिशत सापेक्षिक आद्रता, १६०० देखि २५०० मिलिमिटर सम्म बर्षा र कम्तीमा १० देखी १२ घण्टा घाम लाग्ने र १५ देखी २५ डिग्रि सेन्टीग्रेड तापक्रम, अधिकासं उत्तर–पुर्बी र दक्षिण–पुर्बी मोहडा यहि भौगोलिक क्षेत्र भित्र पाईन्छ ।
नेपालका सबै पहाडी जिल्लाहरुमा कृषि लगायत ग्रामिण सडकका साथै यातायात संजालको बिकास हुने क्रम बढ्नुको साथै पछिल्लो समयमा सरकारका बिभिन्न कार्यक्रम अन्र्तगत सिंचाई, बिजुली सबै ठाउँमा पुगीसकेको कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।
पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं स्तरिय होटलमा नेपाली अर्गानीक कफीको प्रयोगको कारण नेपालको कफीले नेपाली बजारलाई पनि धान्न नसकेको अवस्था छ । यसको साथै नेपालमा खुल्दै गएका कफी कम्पनीको कारण पनि उत्पादीत कफी बिदेशमा नै पठाउनु पर्छ भन्ने छैन । हुन त नेपालमा उत्पादीत कफी मध्ये करिव ६० प्रतिशत निर्यात हुन्छ र ४० प्रतिशत मात्र नेपालमा खपत हुने गरेको छ ।
नेपालमा उत्पादीत कफी बिदेश निर्यात भए पछि नेपाली बजारको लागि भारतवाट वा इटालियन कफीको आयात भैरहेको अवस्था छ । पछिल्लो रेकर्ड अनुसार नेपालमा बार्षिक ४५० मेट्रिक टन कफी उत्पादन हुन्छ भने आन्तरिक तथा बह्य मागलाई हेर्ने हो भने १० हजार मेट्रिक टन भन्दा बढीको बार्षिक माग भैरहेको पाईन्छ ।