असार ११, सल्यान – सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
आइतबार १३ औं गाउँसभामा पालिका अध्यक्ष दुर्गा बहादुर पुनले नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रकाश भण्डारीले बजेट प्रस्तुत गरेका हुन ।
गाउँसभामा अध्यक्ष पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्यसँगै कृषिक्षेत्रलाई पालिकाले विशेष प्राथामिकता दिएको जनाए ।
जसमध्ये खरको छानामुक्त पालिका निर्माण गर्ने, कृषिमा समर्थन मुल्य कोष निर्माण गर्ने लगायतका योजना रहेका छन् । गाउँसभामा कपुरकोट गाउँपालिकाको बजेट ४४ करोड ३६ लाख २० हजार ९ सय रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरिएको छ । जसमा चालुतर्फ २८ करोड २४ लाख २९ हजार ९ सय र पुजीँगत तर्फ १६ करोड ११ लाख ९१ हजार रहेको छ ।
पालिकाले वडातर्फ वडा नं. १,२,३ र ४ लाई ४५ लाख, ५ नं. वडालाई ६५ लाख र ६ नं. वडालाई ५५ लाख विनियोजन गरिएको छ । यस्तै भौतिक पुर्वाधारतर्फ १० करोड १८ लाख २५ हजार, सामाजिक विकास तर्फ २१ करोड ७८ लाख ५ हजार, आर्थिक विकास तर्फ २ करोड ३१ लाख ६५ हजार, विपद् व्यवस्थापन ४५ लाख ५ हजार, सुशासन तथा संस्थागत विकासमा १ करोड २१ लाख र कार्यालय व्यवस्थापन तथा सञ्चालन तर्फ ८ करोड ४२ लाख २० हजार ९ सय रुपैँया विनियोजन गरेको छ ।