फागुन १०, सल्यान – बागचौर नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड जनकल्याण नमुना मा.वि.को प्राङ्गणमा आज देखि सुरु भएको छ ।

बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको प्रमुख आतिथ्यतामा दोस्रो राष्ट्रपति रनिङ शिल्डको समुद्घाटन भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख गौतमले कार्यक्रममा उपस्थित अतिथि लगायत जनताहरुले दिएका राय, सल्लाह र सुझावलाई अनुसरण गर्दै बागचौर नगरपालिकाको स्रोत र साधनलाई सहि तरिकाले परिचालन गरि अगाडि बढ्ने बताए । उनले बागचौर नगरबासीको समृद्धि र विकास निर्माणमा माथि उठ्नका लागि जनताले दिएको जिम्मेवारीलाई कुसलतापुर्वक पूरा गर्न प्रतिबद्ध भएको जनाए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख गौतमले स्रोत र साधनको अभाव रहँदा-रहँदै खेलाडीहरुको उज्ज्वल भविष्यका निमित्त नगर सरकारबाट बजेट छुट्याई कार्यक्रम सम्पन्न गर्न लागेको बताए ।

साथै दोस्रो राष्ट्रपति रनिङ शिल्डमा खेलाडीहरुले अनुशासीत, मर्यादित भएर खेल खेल्न र आयोजक टिमबाट भेदभावरहित, निष्पक्ष रुपले खेलाडीहरु छनोट गर्न आग्रह गर्दै खेलाडीहरुलाई उत्कृष्ट भै जिल्ला स्तरीय रनिङ सिल्डमा बागचौर नगरपालिकाको नाम राख्न सफल हुनका लागि शुभकामना व्यक्त गरे ।कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिकाकी उप-प्रमुख सुम्निमा डि.सी.वलीले स्थानीय तहमा थोरै बजेट आएकोले जनताले चाहेको जति विकास गर्नलाई रकम नै नभएको बताउँदै जनताका सिमित समस्यामा मात्रै हल गर्न सकिने बताइन् । उनले सिमित स्रोत साधनका बिच पनि जनताको सिपाहीको रुपमा उभिएपछि जसरी भएनी पूरा गर्नै पर्ने बाध्यता जनप्रतिनिधिका बिचमा भएकोले सकेसम्म पूरा गर्न लागि पर्ने जनाइन् ।

नगर उप-प्रमुख वलीले बागचौर नगरपालिकाको समृद्धिका लागि जनताले नै दिएका सल्लाह, सुझावलाई अनुसरण गरेर अगाडि बढ्ने बताइन् । उनले युवा भनेको उदाउँदा सुर्य भएकोले आफ्नो कला क्षमता सिपलाई प्रदर्शन गरि उत्कृष्ट बन्न सम्पुर्ण विद्यालयका खेलाडीहरुलाई शुभकामना व्यक्त गरिन ।कार्यक्रममा शुभकामना मन्तव्य कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार गौतम, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य टिकाराम वली, अतिथिहरु नेकपा एमालेकि जिल्ला सदस्य निर्मला रोका, राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रदेश सदस्य टोप ब. के.सी., नेपाल कम्युनिष्ट पार्टिका जिल्ला सेक्रेटरी मदन चन्द, बागचौर नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षहरु, एकीकृत समाजवादी बागचौर नगर सचिव डम्बर भण्डारी, जिल्ला खेलकुद विकास समितिका सचिव तुफान वली, अमर ज्योति मावि चोरपानीका वि.व्य.स. अध्यक्ष बल बहादुर भण्डारी र जनकल्याण नमुना माविका प्र.अ. डा. पूर्ण बहादुर भण्डारी लगायतले राखेका थिए ।बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिका संयोजक एवं वडा नं. १२ वडाध्यक्ष टिकाराम वलीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य रेशम रसाइलीले राखेका हुन भने कार्यक्रमको सहजीकरण जनकल्याण नमुना माविका सहायक प्र.अ. तुल्सीराम बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार