माघ ५ काठमाडौं – सामाजिक संजाल टिकटक मार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा रूकुम (पूर्वी) पुथा उत्तरगंगा गाउँपालिका-५ घर भई हाल ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई आफूले लाभ लिने उद्देश्य राखी टिकटकमा लाईभमार्फत् रकमको बाजी राख्न लगाई जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई टिकटक लाइभमार्फत जुवा खेलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद काेइरालाले बताए ।
मल्लले Quick Cash नामक टिकटक आईडीहरु खोली दुइवटा ई-सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक काेइरालाले बताए।