पुस ९ जाजरकोट – नेत्र विक्रम चन्द `विप्लव´ नेकपाका कार्यकर्ताले शिक्षक माथि कालाेमाेसाे दलेका छन।
नेकपा निकट युवा संगठनले कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको जनाएको छ। उनले आफू शिक्षक पेसामा कार्यरत भइरहेको अवस्थामा कुशे गाउँपालिमा निर्माण भइरहेको वैकल्पिक उर्जा निर्माण उपभोक्ता समितिकाे अध्यक्ष बनेर २०६४ साल देखि हाल २०७९ सालसम्म करिब २ कराेड २१ लाख रुपैयाँ हिनामिना गरेकाे युवा संघ भेरी कर्णाली ब्युराेले आराेप लगाएको छ।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ।
घटनाबारे भने प्रहरीलाई अहिलेसम्म आधिकारिक कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जनसहारासंग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला भन्छन्: `हामीले सामाजिक संजाल मार्फत थाहा पाएका छौ, तर पिडितले हामीलाई कुनै जानकारी गराउनु भएको छैन, उहाँलाई फाेन सम्पर्क गर्दा उल्टै फाेन कटाउनु हुन्छ।´
तर प्रहरीले उनलाई सम्पर्क गर्ने प्रयासमा रहेकाे डिएसपी निरौलाले बताए। `हामी अझै सम्पर्क गर्दै छौ उहाँ नै सम्पर्कमा आए सहज हुन्थ्याे।´ उनले भने।