पुस ५ काठमाडौ – झारफुककाे बहानामा अनेक शारीरिक यातना दिने ५ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा झारफुक गर्ने मुख्य माता सहित उनका सहयाेगीहरु छन। जसमध्ये झारफुक गर्ने अर्घाखाँचीकाे शिवपुरी घरभई हाल तारकेश्वर -८ बस्ने १९ वर्षीय सचिना सारु मगर छन भने उनका सहयोगीहरु उदयपुरकाे रौतामाई घर भई हाल तारकेश्वरमै बस्ने २६ वर्षीय पदम बहादुर मगर, २६ वर्षीय संगम राई, १८ वर्षीय सागर मगर र चितवनकाे नारायघाट घर भई हाल तारकेश्वर -८ मै बस्ने १८ वर्षीय अजित तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।
उनिहरुले पुस -२ गते भाेजपुरकाे आमचोक गाउँपालिका वडा नं. ६ घरभई हाल तारकेश्वर नगरपालिका -११ मनमैजु बस्ने एक ३६ वर्षीय महिलालाई विगत केही वर्षदेखि काप्ने, बर्बराउने, छटपटाउने भई अस्वस्थ भएकि ती महिलालाई झारफुक गर्न भनी माता भनिएकि मगरले पीडित महिलालाई तातो पन्यूले डाम्ने, शरीरमा तातो तेल र तातो पानी खन्याउने गरेपछि पीडित महिलाको शरीरमा छाला खुइलिई पाक्ने तथा अनुहारको भागसमेत कुरुप भएको र हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको परिसरले जनाएको छ।
उनीहरु विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१४ को कुटपिट वा अंगभंग सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनकाे म्याद थप अनुमति लिई प्रहरी वृत्त बालजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।