मंसिर २७ क्वालालम्पुर – मलेसियामा नेपाली एक रेष्टुरेन्ट संचालकले दुई नेपालीको हत्या गरेपछि आराेपितलाई मृत्यु दण्डकाे सजाय हुने देखिएकाे छ।
गत १७ गते अर्थात डिसेम्बर ३ तारिखको दिन मलेसियाको नगर सिम्बिलन राज्यमा पर्ने सेरेम्बान बजार स्थित एक रेष्टुरेन्टमा दुई नेपालीको हत्या आराेपमा रेष्टुरेन्ट संचालक नेपाली नै ३७ वर्षीय ठाकुर प्रसाद भण्डारी माथि भएको मुद्दा दायरमा बुधबार आज देखि मलेसियाको अदालतमा सुनुवाइ सुरु भएको छ।
लामो समयदेखि आप्रवासी कामदारलाई खाना खुवाउने रेष्टुरेन्ट संचालन गर्दै आएका ठाकुरले आफ्नै रेष्टुरेन्टमा खाना खादै आएका सुरक्षागार्डमा कार्यरत ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारलाई हथौड़ा प्रहार गरि एकैसाथ हत्या गरेका थिए। मलेसियन प्रहरीका अनुसार ठाकुरले हत्या गरेको पनि सहजै स्विकार गरेका छन।
उनलाई घटना भएको दिन नै प्रहरीले मादक पदार्थ सेवन गरेकाे अवस्थामा र उनले हत्यामा प्रयाेग गरेको हथौड़ा सहित पक्राउ गरेको थियाे।
मृतकहरु दुवैजना साेहि रेष्टुरेन्ट नजिकै पछाडिको भवनमा बस्दै आएका थिए। घटनाबारे नजिकबाट बुझेका मृतका साथिहरुका अनुसार ती रेष्टुरेन्ट संचालक र मृतकहरुकाे यसअघि देखि नै केही मनमुटाव रहेकाे र पहिला पनि सामान्य झकडा भएको बुझिएकाे छ। मृतक दुवै जना घर जाने अन्तिम तयारीमा थिए। घटना भएको दिनमा रेष्टुरेन्टमा मृतक दुवै जना र रेष्टुरेन्ट संचालक मदिराको नसामा लठ्ठ भएका बेला विवाद भएपछि रेष्टुरेन्ट संचालक ठाकुरले दुवै जना माथि अन्धाधुन्धा हथौड़ा प्रहार गरेकाे बताइएको छ।
अदालतबाट ठाकुर हत्या आरोपमा दोषी ठहरिएमा मलेसियन पेनलकोट दण्ड संहिताको धारा ३०२ अन्तर्गत मृत्युु दण्डको सजाय हुन्छ।