मंसिर १४ सल्यान – पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख, दुई जना सब-इन्जिनियर र उपभोक्ता समितिका तीन जना गरि ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
शारदा नगरपालिका -१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानबाट आर्थिक वर्ष २०७७।०७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरी अनियमितता गरेको भन्ने उजुरी निवेदनकाे आधारमा अनुसन्धान गर्दा पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब-इन्जिनियर प्रकाश शाही र सब-इन्जिनियर कुमार बोहराले सडक निर्माण स्थलमा काम नभएको कामकाे परिमाण समेत मूल्याङ्कन गरी नापी किताबमा चढाई गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी झुट्टा विल भरपाईलाई स्वीकार गरी अन्तिम विल भुक्तानी गरेको पाइएपछि विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जनाएको छ।
उनिहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ग) र (ङ) तथा बदनियत पूर्बक भएकाे काम लुकाई छिपाई नभएको कुरा देखाई गलत काम सम्पन्न प्रतिवेदन स्वीकृत गरी साेहि ऐनको दफा १९(२) बमोजिम समेत कसुर गरेको देखिएपछि तीन जना विरुद्ध रु.७,१४,०४१।०९ (सात लाख चौध हजार एकचालीस रुपैयाँ नौ पैसा) बिगो समेत कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (१) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी सो विगो समेत असुल उपर हुन साथै साेहि ऐनको दफा १९(२) बमोजिम समेत सजाय हुन मागदावी लिइएको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
साथै सुन्दरडाँडा-थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले वास्तविक रुपमा भएको काम भन्दा बढी नभएकाे कामकाे समेत मूल्याङ्कन गरी गराई कार्य सम्पन्न भयो भनी कार्य सम्झौता विपरीत भुक्तानी माग गरी भुक्तानी समेत लिई उनिहरुले पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिम कसुर गरेको देखिएपछि उनिहरु विरुद्ध रु.७,१४,०४१।०९ (सात लाख चौध हजार एकचालीस रुपैयाँ नौ पैसा मात्र) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ उपदफा (४) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी विगोसमेत जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरिएको आयाेगका प्रवक्ता भण्डारीले बताए।