कार्तिक २ रोल्पा – कृत्रिम प्लास्टिक मालाकाे प्रयाेग अत्यधिक बढदाे क्रममा रहेकाे अवस्थामा राेल्पामा पहिलोपटक सामुहिक पुष्प खेतीकाे सुरुवात गरिएको छ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर -२ खुँङ्ग्रीमा रहेको सुवर्णावती स्वावलम्बन महिला समूहले विशेषगरी दिपावलीलाई लक्षित गरि सयपत्री फूलकाे खेती जिल्लामै पहिलोपटक सुरु गरेको हाे।

अहिले उक्त समुहले सयपत्रीकाे प्रजाती मध्ये कर्मा ५५५ नामकाे सयपत्री तिहारको लागी लक्षित गरि करिब १ राेपनी क्षेत्रफलमा समुहकाे ३५ हजार लगानीमा खेती सुुरु गरिएको समुहकि अध्यक्ष गीता याेगीले बताइन्।

२८ जना महिला सदस्य रहेको उक्त समूहले व्यवसायीक पुष्प खेती गरि विभिन्न दृष्टिकोणले हानिकारक मानिने प्लाष्टिक फूल तथा मालाहरुकाे प्रयाेगमा कमि ल्याई स्थानीय अर्गानिक उत्पादनलाई एउटा पहिचान समेत बनाउने लक्ष्य लिएकाेमा अहिले परिक्षणकै रुप राम्रो उत्पादन हुने देखिएको अध्यक्ष याेगीले बताइन्। अहिले उत्पादित फूललाई बारीबाट प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री गर्ने निर्णय समूहले गरेको छ।

उत्पादित फूलहरु स्थानीय स्तरमा खपत नभएको खण्डमा सयपत्रीकाे बिज दिने संस्थाले नै किनिदिने समेत बताएकाले उत्पादन भए बिक्रीकाे लागि समस्या नरहेको समेत अध्यक्ष याेगीले बताइन्।

सयपत्रीको खेती समुद्री सतहबाट १५० मिटर देखि २००० मिटर सम्म गर्न सकिन्छ । यो खेती गर्न प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो हुन्छ । माटोको पि.एच. ५.५ देखि ६.५ सम्म राम्रो मानिन्छ । साउन देखि मंसीर सम्म बाहिरकै अवस्थामा सयपत्रीको सफलता पुर्वक खेती गर्न सकिन्छ भने उच्च पहाड र मध्य पहाडमा बढी चिसो र तुषारोका कारण बेमौसममा उत्पादन लिनको लागि विशेष गरी मंसिर देखि बैशाखको बीचमा प्लाष्टिक टनेल भित्र मात्र यसको खेती गर्न सकिन्छ । सयपत्रीको खेतीको लागि १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा बिरुवाको राम्रो वृद्धि हुने र फूल चाँडै फुल्ने गर्दछ ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार