मंसिर ७ काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए ।

नेपालमा निको हुनेको सङ्ख्या १ लाख ९९ हजार २४ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरबाट थप ५ हजार ६९९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका हुन् । २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । याे संगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार