असाेज २२ काठमाडौ – एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे चर्का आलोचना गर्दै आएका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अन्ततः नेकपा एमाले नै परित्याग गरेका छन्।

शनिबार उनले सामाजिक सञ्जाल मार्फत् एमाले परित्याग गरेको घाेषणा सहित सार्वजनिक गरेका हुन।

विगत ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको र अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उल्लेख गरेका छन।

चुनावको बेला टिकट नपाएपछि पार्टी छाडेको रूपमा नबुझन भन्दै यो एमालेभित्र दश बुँदेको नाममा हामी माथिको अत्याचार विरूद्दको विद्रोह भएको र यो नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक मूल्य र मान्यता सिध्याउने प्रवृत्ति विरूद्दको संघर्ष भएको दावी गरेका छन। वामआन्दोलनलाई नयाँ सोच र विचारका साथ उचाइमा पुर्‍याउने अभियानलाई अघि बढाउने समेत उनले प्रतिबद्धता जनाएका छन।

भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

उनले थप लेखेका छन;`नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ। राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु। कमरेडहरु १ सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं। ’

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार