असाेज १४ काठमाडौ – काठमाडौंको गोठाटारमा गत असोज ३ गते साँझ गोली प्रहारबाट मारिएका लाल मोहम्मद हत्यामा संलग्न एक महिला सहित तीन जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ बस्ने २१ वर्षीय महोरम मियाँ, वीरगन्ज महानगरपालिका -१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका -१ घर भई काठमाडौंको कपन फैकाचोक बस्ने २१ वर्षीया सुमी भन्ने सुस्मिता स्याङताङ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।

दुई जना पुरूषलाई शुक्रबार वीरगन्जबाट र सुमीलाई काठमाडौ‌ंबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले बताए।

पक्राउ पर्ने महोरम र रेहानले हत्या याेजना सहित हातहतियार व्यवस्थापन गर्ने गरेको खुलेको हाे। उनिहरुले पर्साबाट काठमाडौंसम्म पेस्तोल ल्याई हत्या याेजना तयार गरेकाे पाइएको छ। घटनास्थलमा भेटिएको made in usa लेखिएको पेस्तोल, 9mm खाेका ४ थान र 9mm जंगी राउन्ड ४ थान उनिहरुले विरगन्जबाट काठमाडौ ल्याएकाे खुलेकाे हाे।

त्यसगरि पक्राउ परेकि सुमीले मृतक लाल मोहम्मदकाे गतिविधि निगरानी गरि त्यसकाे जानकारी दिने काम गरेकाे खुलेकाे छ। उनले माेहम्मदकाे दैनिकी निगरानी गर्दै कहाँ कहाँ  जान्छन, के गर्छन र घर कतिबेला सम्म फर्कन्छन त्यसकाे जानकारी महोरम र रेहानलाई दिने काम गरेकाे खुलेको हाे।

सुमी यसअघि पनि चोरी मुद्दामा २०७६ असार ११ गते देखि २०७८ फागुन ७ गतेसम्म उनी केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरेको प्रहरी तथ्यांकमा देखिएको छ।

पक्राउ परेका तिनै जनामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको वरिष्ठ प्रहरी उपरीक्षक बाेहराले बताए।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार