कात्तिक २६ काठमाडौ –  गएको जनवरी यता नेपाल र चीनबीचका दुईवटा प्रमुख व्यापारिक नाकामा चिनियाँ पक्षले आपूर्तिमा कडाइ गरिरहेको भन्दै त्यसको उद्देश्यलाई लिएर विभिन्न कोणबाट प्रश्नहरू उठिरहेका छन्।

दैनिक एकाध मात्रै कन्टेनर आउने गरेका कारण तातोपानी र केरूङमा नेपाली श्रमिकहरू सुतेर बस्न परिरहेको स्थानीय भन्सार अधिकारीहरूले बताएका छन्।

पछिल्लो समय चिनियाँ पक्षले तातोपानीबाट दिनको दुई र केरूङबाट पाँच कन्टेनर सामान मात्रै नेपाल पठाउने गरेको अधिकारीहरू बताउँछन्।

‘नाकाबन्दी होइन’

चीनमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रूप लिएपछि शुरूवाती दिनमा केही समयलाई चिनियाँ पक्षले नै ती नाकाहरू बन्द गरेको थियो।

पछि चिनियाँ पक्षले स्थिति नियन्त्रणमा आउँदै गएको धारणा राख्दै नाकाहरू सञ्चालनमा ल्याउन सङ्केत दिँदा सीमा जोडिएका ठाउँका कतिपय नेपाली स्थानीय तहले त्यसो गर्न नहुने अडान राखेका विवरण आएका थिए।

चीनमा नियन्त्रणमा आएको महामारी पछि नेपालमा सल्किन थाल्यो।

त्यसबेला चिनियाँ पक्षले पर्याप्त सावधानी बिना नाका सञ्चालन गर्न नसकिने धारणाहरू राखेका विवरण आएका थिए।

हाल चीनसँगको नाकामा देखिएको असहजतालाई कतिपयले एउटा तहको नाकाबन्दीका रूपमा टिप्पणी गरिरहेका छन्।

तर काठमाण्डूस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै चीनले नेपालले चीनसँगको सम्पर्क सञ्जाल र सीमापार व्यापारलाई उच्च प्राथमिकता दिएको भन्दै भनिएको जस्तो नाकाबन्दीको अवस्था नरहेको बताए।

उनले भने, “कोभिड-१९ र प्राकृतिक विपद्हरूको जोखिमका माझ हामीले स्वास्थ्य सामग्रीहरू र दैनिक उपभोग्य वस्तुहरू ती दुवै नाकाबाट आपूर्ति होस भन्ने सुनिश्चित गर्न निक्कै मेहनत गरिरहेका छौँ।”

उनका अनुसार केही नेपाली कामदारहरू कोभिड-१९ सङ्क्रमित पाइएको हुनाले दुवै देशले महामारी फैलन नदिन ध्यान दिनुपर्छ। त्यसका लागि सामग्री, कन्टेनरलाई निर्मलीकरण गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ।

“त्यही भएर अहिले शुरूमा चिनियाँ श्रमिकहरूले सीमाको पुलमा सामान झार्छन् र उनीहरू त्यहाँबाट गइसकेपछि नेपाली कामदारहरू आउँछन् र नेपालतर्फको कन्टेनरमा समान भर्छन्। त्यो गह्रुँगो काम गर्न समय लाग्छ। पुलमा पर्याप्त ठाउँ नरहेकाले कन्टेनरहरू पार गराउन सीमितता रहेको छ।”

दुई देशका सरकारहरू निरन्तर सम्पर्कमा रहेको र उनीहरूले आपूर्ति क्षमता सुधार गर्ने उपायहरू खोजिरहेको चिनियाँ दूतावासका प्रवक्ता चाङ सूले बताए।

नेपाली अधिकारीहरू के भन्छन्?

परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग आफू निरन्तर सम्पर्कमा रहेको र नाकामा देखिएका समस्या समाधानोन्मुख रहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्, “ कूटनीतिक माध्यमबाट हामीले कुराकानीहरू गरिरहेका छौँ। समस्या समाधानका लागि पहल गरिरहेका छौँ र निरन्तर रूपमा अवस्थाको पर्यवेक्षण पनि गरिरहेका छौँ।”

उनले थपिन्, “पहिलादेखि नै अड्किएका कतिपय समस्या समाधान हुन समय लागेका हुन्। तर त्यो समाधान हुन्छ भन्ने हाम्रो विश्वास छ।”

उनले सर्त रहित रूपमा सबै किसिमका अवागमनमा चिनियाँ पक्षले सहजिकरण गर्नुपर्नेमा नेपाल सरकारले जोड दिइरहेको बताइन्।

केरूङ नाकाको ताजा अवस्था

चीन र नेपालबीच सबैभन्दा बढी कारोबार हुने यो नाकामा चीनले मितेरी पुलमा ल्याइदिएका सामान बोकेर सोमवार १२ वटा ट्रकहरूमात्रै नेपाल प्रवेश गरेको रसुवा भन्सार कार्यलयका प्रमुख पूण्यविक्रम खड्काले बताए।

भन्सार कार्यलयका प्रमुख खड्का भन्छन्, “सोमबार मात्रै चिनियाँ पक्षले श्रमिक र चालकहरूको सङ्ख्या बढाउन र आफ्नो तर्फबाट सवारी साधनहरू बढाउँदैछौँ भनेर सन्देश पठाएका छन्।”

उनले थपे, “हाम्रो अहिले भइरहेका ४९ जना नै सुतेर बस्नुपरिरहेको अवस्था छ। आधा दिनमा नै सम्पूर्ण काम सिद्धिरहेको छ। काम नभएकाले होटलमा बसेको खर्च लागिरहेको भन्दै कामदारहरूले हामीलाई कराइरहेका छन्। हामीले हामीसँग पर्याप्त चालक र श्रमिक रहेको भन्दै सामान थप्छौँ भने थप भनेर प्रमुख जिल्ला अधिकारीमार्फत चिनियाँ पक्षलाई जवाफ पठाउन अनुरोध गरेका छौँ।”

त्यहाँ चिनियाँ पक्ष र नेपाली पक्षबीच श्रमिक र चालकहरूको कोरोनाभाइरस परीक्षणको विषयलाई लिएर पनि मतभेद छ।

सुरूमा प्रत्येक साता सबै श्रमिक र चालक दलका सदस्यहरूको पीसीआर परीक्षणको रिपोर्ट माग गरेको चिनियाँ पक्षले अहिले प्रत्येक दुई सातामा त्यस्तो रिपोर्ट दिन भनिरहेको छ।

तर सबै श्रमिक र चालकदलका सदस्यहरू एक्लिएर बसिरहेको र ज्वरो लगायत उनीहरूको दैनिक स्वास्थ्य विश्लेषण चिनियाँ पक्षलाई उपलब्ध गराइरहेको भन्दै नेपालले लक्षण भएमात्रै जाँच गर्ने बताइरहेको भन्सार प्रमुख खड्काले जानकारी दिए।

यो वर्ष ११ अर्ब ३३ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य लिएको रसुवा भन्सार कार्यलय हालसम्म ९२ करोड रूपैयाँमात्रै राजश्व उठाउन सकेको छ।

तातोपानी नाका पनि सुख्खा

सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाको अवस्था पनि बेहाल रहेको बताइन्छ।

तातोपानी भन्सार कार्यलय प्रमुख लालबहादुर खत्री भन्छन्, “दुइवटा चिनियाँ गाडीहरू आइरहेको छ र नेपालतर्फबाट चारवटा गाडीले ती सामानहरू ल्याइरहेका छन्। नाका खुला छ तर सहज छैन।”

“हामीले काम बढाउनुपर्‍यो। नेपालतर्फका हाम्रा कामदार त्यतिकै बसिरहेका छन् भनेर भनिरहेका छौँ। बिहान ११ बजेसम्ममा नै हाम्रो काम सिद्धिइसकेको हुन्छ भन्दा उताबाट माथिको आदेश भन्ने आशयको जवाफ आइरहेको हुन्छ।”

उक्त नाकामा चिनियाँ पक्षले भनेका सबै सर्तहरू मानेको उल्लेख गर्दै खत्रीले २३ जना कामदार क्वारन्टीनमा बसेको बताए।

उनले उनीहरूको हरेक १५ दिनमा पीसीआर परीक्षण गरिने र त्यसको प्रतिवेदन चिनियाँ पक्षलाई पनि दिइने गरिएको बताए।

साधारण अवस्थामा उक्त नाकामा २० देखि ३० वटा मालवाहक कन्टेनर र लसुन अनि फलफूल ७० देखि ८० गाडीसम्म आउने गरेको खत्रीले जानकारी दिए।

यस आर्थिक वर्षमा ५ अर्ब ४७ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य बोकेको उक्त नाकाले अहिले सोचेभन्दा सात-आठ प्रतिशतको हाराहारीमा राजश्व सङ्कलन भइरहेको बताए।

व्यवसायी के भन्छन्

झण्डै १० महिनादेखिको समस्याका कारण झण्डै २० अर्ब मूल्य बराबरका सामग्री चीनतर्फ थन्किएको नेपाल चीन हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेल बताउँछन्।

उनले भने, “दैनिक रूपमा ३० देखि ४० वटा कन्टेनर सामान आउनुपर्ने भएपनि त्यसो हुन नसक्दा अहिले पनि चीनतर्फ १२ देखि १५ सय कन्टेनरसम्मका हाम्रा सामान रोकिएका छन्।”

उनका अनुसार नेपाल सरकारको पहल नपुग्दा चिनियाँ पक्षले दैनिक एकाध मालवाहक कन्टेनरहरूलाई मात्रै नेपाल पठाइरहेको हो।

उनले भने, “परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयबाट कुरा भइरहेको होला तर माल पनि छोडेको छैन र नेपाली गाडी पनि जान दिइएको छैन। परिणाम नआउनजेल कुरा भइरहेको छ भनेर मात्रै हुँदैन।”

“अहिले हामीले चीनतर्फ भएका सामान नेपाल ल्याएर आवश्यक परेको छ भने दुई देशका सरकार बसेर केही समयका लागि बरू नाका नै बन्द गरौँ भनेर सरकारलाई भनेका छौँ।”

त्यसबाहेक यो बिचमा चिनियाँ ढुवानीकर्ताले रसुवागढी नाका लक्षित गर्दै लगभग २४ किलोमिटर सामान ढुवानी गरिदिन १२ लाख रूपियाँ भन्दा बढी लिएको नेपाल चीन हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष पौडेलले बताए।

पहिला ३ लाख रूपियाँमा ती सामान काठमाण्डूसम्म ढुवानी हुने गरेको उनको भनाइ छ।>चिनियाँ पक्षबाट त्यसरी ढुवानी खर्च बढेको आफूहरूले सुनेको भएपनि प्रमाण ल्याउन भन्दा व्यवसायीहरूले दिन नसकेको रसुवा भन्सार कार्यलयका प्रमुख पूण्यविक्रम खड्काले बताए।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार