भदौ ७ दाङ – नेपाल बन्दकाे मौका छाेपि आफ्नै सवारीमा आगो लगाउने टिप्पर धनी, चालक र सहचालक पक्राउ परेका छन।
पक्राउ पर्नेमा टिप्पर धनी घोराही उपमहानगरपालिका-१८ का ४३ वर्षिय धनेश्वर भण्डारी, चालक राप्ती गाउँपालिका-८ पिपरीका ३२ वर्षिया अरुण चौधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुरका १७ वर्षिया आकाश चौधरीले रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मंगलबार नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपा सहित चार माेर्चाले गरेकाे नेपाल बन्दकाे मौकामा बिहान घोराही उपमहानगरपालिका -३ कुईरेपानी स्थित बबई पुल नजिकै गोग्लीबाट लमही जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बन्दकर्ताले आगजनि गरेकाे आराेप गाडी धनीले लगाएका थिए।
बिहान बन्दकर्ताले चालक र सहचालकलाई टिप्परबाट तल झारी आगजनी गरि फरार रहेको सुचना पाए लगत्तै प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरिक्षक बत्तिकुमार पोखरेलको कमाण्डमा ३ जना र घोराहीबाट प्रहरी निरिक्षक गजेन्द्रबहादुर शाहीको कमाण्डमा ७ जनाको टोलीले दमकलसहित उक्त स्थानमा गएर आगो नियन्त्रणमा लिएर अनुसन्धान गर्दा धनी भण्डारीले टिप्पर पुरानो भइसकेकाले बिमा दाबीका लागि आगो लगाउन भनि चालक र सहचालकलाई भनेपछि आगाे लगाएकाे खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतमले बताए ।
पक्राउ परेका तिनै जनामाथि अपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ को उपदफा १ र २ बमोजिमको परिभाषित कसुरमा सोहि दफाको उपदफा ३ को ग बमोजिम एक बर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था रहेकाे अहिले साेहि कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गैतमले बताए।