साउन १२ काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ।

मोटरबाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीवरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।

डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि आयाेगले नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको सिलसिलामा इन्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताव तयार गरी अन्तिम भुक्तानीको लागि फाइल पेश गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. ५० हजार घुस माग गरी लिएको र उनलाई खानतलासी गर्ने क्रममा बरामद भएको रकम रु. ३ लाख ५६ हजार ५ सय समेत काम गरिदिए वापत सेवाग्राहीहरुबाट लिएको भनी उल्लेख गरेपछि आयाेगले उनलाई रकमको श्रोत खुलाउने बस्तुनिष्ठ प्रमाण पेश गर्न भनेपछि स्राेत खुलाउन नसकेकोले उक्त रकम डाँगीले सेवाग्राहीहरुबाट घुस/रिसवत बापत लिएको देखिएको हुँदा डाँगीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुरमा बिगो रु. ४,०६,५००।–(चार लाख छ हजार पाँच सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र साेहि ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन तथा उनिबाट बरामद भएको रकममध्ये रु. ३,५६,५००।– सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदावी लिई मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए।

आयोगको बुटवल र नेपालगन्जबस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार