साउन ९ रुपन्देही – एक युवतीलाई निजी तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जना पक्राउ परेका छन।

पक्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका–९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१ का १७ वर्षीया किशोर रहेकाे इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेपछि उक्त घटना बाहिरएकाे हाे। प्रहरीले ती युवतीलाई सोधपुछ गर्दा ती किशोरले आफ्नो विभिन्न फोटाहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याक मेल गरी शनिबार साँझ भेट्न बोलाएर आफुलाई यौन सम्पर्क गर्न दिन दबाब दिएको प्रहरी समक्ष ती युवतीले बताएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।

ती किशोरहरूले युवतीलाई यौन सम्पर्क गर्न देऊ अनिमात्र बल्ल तिम्रो फोटाहरू डिलिट गर्छौँ भनी त्रासमा पारेर जबर्जस्ती करणीको प्रयास गर्दा युवती भागेर आउदै गर्दा प्रहरीले अतालिएकाे अवस्थामा फेलापछि सो घटनामा संलग्न उनीहरुलाई प्रहरीले आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट पक्राउ गरेको प्रहरी निरीक्षक मरासिनीले बताए।

उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको १ थान मोबाइल, कन्डमकाे ४ वटा बट्टा भित्र १२ पिस बरामद भएको छ भने उनीहरू विरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मरासिनीले बताए।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार